संघीयतालाई बलियो बनाउन सुधारका काम अघि बढाउँछौं: रवि लामिछाने

संघीयतालाई बलियो बनाउन सुधारका काम अघि बढाउँछौं: रवि लामिछाने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउने बताएका छन्। 

रास्वपा नेता एवं प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले सोमबारदेखि सुरु गरेको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै सभापति लामिछानेले संघीयतालाई बलियो बनाउनुपर्ने बताएका हुन्। संघीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको उनको भनाइ छ। 

संघीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने उनले बताए। 
सभापति लामिछानेले संघीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको बताए। 

‘संघीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,’ लामिछानेले भने, ‘सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा संघीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ।’

मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्नेमा उनको जोड थियो। विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए। 

कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ थियो। मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए।