अमरेशकुमार सिंहले शुरु गरे दुई महिने मेची-महाकाली पदयात्रा

अमरेशकुमार सिंहले शुरु गरे दुई महिने मेची-महाकाली पदयात्रा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले दुई महिने मेची-महाकाली पदयात्रा शुरु गरेका छन्।  जनताको समस्या र गुनासा सुन्न भन्दै उनी सोमबार मेची प्रस्थान गरेका हुन्। 

उनले जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलबार बिहान मेचीको किनारबाट शुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जानकारी दिए। उनले पदयात्रालाई देश र समाज जोड्ने अभियान भएको बताए।

जात, धर्म, पहाड–मधेश तथा वर्ग समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उनले बताए। सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको दाबी गरे। अहिलेसम्म नेताहरूले जनतालाई आफ्ना कुरा सुनाउने गरेको भन्दै उनले यो पटक जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या र अपेक्षा बुझ्ने जानकारी दिए।