ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहार बिदापछि खुलेको पहिलो कारोबारको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ । तिहारअघिको कारोबार दिन (कात्तिक २२ गते) सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, प्रति १० ग्राम सुनको मूल्यमा पनि ९ हजार ६८५ रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक २२ गते १० ग्राम सुन २ लाख ४२ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँमा झरेको महासंघले जनाएको छ  ।

तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा गिरावटको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।