पाकिस्तानका कप्तान फरहान नेपालमा, कर्णाली याक्सबाट एनपीएल खेल्ने

पाकिस्तानका कप्तान फरहान नेपालमा, कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं। टेस्ट राष्ट्र पाकिस्तानको टी-२० टोलीका कप्तान साहबजादा फरहान नेपाल आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट प्रतिस्पर्धा गर्न उनी नेपाल आएको टोलीले शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।

फरहानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले स्वागत गरेका थिए। क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दायाँहाते ब्याटर फरहानलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको थियो।

उनी कर्णाली याक्समा भित्रिने पाकिस्तानी राष्ट्रिय टोलीका दोस्रो खेलाडी हुन्। यसअघि कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ, जो नेपाल आइसकेका छन्।

फरहानले सन् २०१८ मा अस्ट्रेलियाविरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले पाकिस्तानका लागि ५१ टी-२० खेलमा २ शतक र १३ अर्धशतकसहित कूल १,५५४ रन बनाएका छन्। उनले रावलपिण्डीमा भएका पछिल्ला तीन टी-२० खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए।

योसँगै कर्णाली याक्सले टोलीका ६ जना विदेशी खेलाडीको कोटा पूरा गरेको छ। कर्णालीले फरहान र तलातबाहेक बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली, दक्षिण अफ्रिकाका विष्फोटक ब्याटर डेभिड मिलर तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई अनुबन्ध गरिसकेको छ।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा जस्ता घरेलु खेलाडीहरूलाई टोलीमा समावेश गरेको छ।