ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण: बाँध सुरक्षित र जोखिममुक्त रहेको पुष्टि

ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण: बाँध सुरक्षित र जोखिममुक्त रहेको पुष्टि

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको बाँधको निरीक्षण गरे। गत असोज ८ देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण जलसतह खतराको तह पार गरेपछि उत्पन्न स्थिति र बाँधको पछिल्लो अवस्था बुझ्न मन्त्री श्रेष्ठ शनिबार आयोजना स्थल पुगेका थिए।

निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायतका कर्मचारीहरूले मन्त्री श्रेष्ठलाई बाँधको वर्तमान वस्तुस्थितिबारे जानकारी गराए। ब्रिफिङपश्चात् मन्त्री श्रेष्ठले कुलेखानी बाँध पूर्ण रूपमा सुरक्षित र अवस्था सामान्य रहेको स्पष्ट पारे। उनले भारी वर्षाका बेला बाँधको उच्च निगरानी गर्नुका साथै सम्भावित जोखिम टार्न आवश्यक सबै रणनीति अपनाइएको जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार केही दिनअघिको अविरल वर्षाले देशभरका विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनहरूमा क्षति पुर्‍याउनुका साथै कुलेखानीमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो। नेपालको विद्युत् प्रणालीमा 'ब्याकअप' मानिने कुलेखानीको जलसतह बढ्दा सम्भावित जोखिमको चिन्ता बढाउनुका साथै विद्युत् आपूर्ति व्यवस्थापनमा केही दबाब सिर्जना गरेको उनले बताए।

यसैगरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानीलाई समग्र विद्युत् प्रणालीको मेरुदण्डका रूपमा स्पष्ट पारे। उनले प्रणालीको विद्युत् माग बढी हुने समय (पिकिङ hour) मा ऊर्जा व्यवस्थापन गर्न र प्रणाली सञ्चालनका दृष्टिले कुलेखानीको महत्त्वपूर्ण योगदान रहेको बताउँदै हाल बाँधको अवस्था पूर्णतः सामान्य रहेको जानकारी दिए।

छुटाउनुभयो कि ?