काठमाडौँ। असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न गई केही जलविद्युत केन्द्रहरू बन्द हुनुका साथै समग्र प्रणाली प्रभावित भएको छ। बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू पुनः सञ्चालनमा आइसकेको र बाँकी अवरुद्ध क्षेत्रमा पनि विद्युत् सुचारु गराउन प्राविधिकहरू निरन्तर कार्यक्षेत्रमा खटिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धन गरिएको राहुघाट आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुग्नुका साथै टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। यद्यपि उक्त आयोजनाको स्वीच्यार्ड सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ। राहुघाट सबस्टेशनमा जोडिएका अवरुद्ध आयोजनाहरूमध्ये राहुघाट जलविद्युत केन्द्र (४० मेगावाट) बाहेक १२७ मेगावाट बराबरको उत्पादन पुनः सञ्चालनमा आउनसक्ने अवस्थामा रहेको छ।
त्यस्तै, प्रणालीमा अवरुद्ध भएका आयोजनाहरूमध्ये सेती तथा मादी करिडोरका कुल २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका कुल १९० मेगावाट क्षमताका जलविद्युत केन्द्रहरू पुनः सञ्चालनमा आइसकेका छन्। बाढीका कारण अवरुद्ध बनेको १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत केन्द्र सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल प्रणालीबाट बाहिर रहेका जलविद्युत आयोजनाको संख्या ८ वटा रहेको र तिनको कुल क्षमता २३० मेगावाट रहेको छ।
अर्कोतर्फ, गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले माथिल्लो त्रिशुली ३बी २२० केभी हबमा क्षति पुर्याउनुका साथै जलविद्युत केन्द्रहरू प्रभावित हुँदा कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको छ। यस क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीहरूतर्फ गरी प्रारम्भिक रूपमा करिब रु. ७४ अर्ब बराबरको क्षति पुगेको अनुमान छ।
यसैगरी, कुश्मा-दाना प्रसारण लाइनमा क्षति पुगेका कारण कुल १९० मेगावाट क्षमताका ७ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत् प्रसारण हुन सकेको छैन। कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना-कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध भएकाले स्थलगत निरीक्षणपछि मात्र विस्तृत क्षति विवरण प्राप्त हुनेछ।
वितरण प्रणालीतर्फ म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेशन र रुकुम पूर्वमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अबेरसम्म विद्युत् सुचारु हुने र मनाङमा भोलिसम्ममा आपूर्ति सामान्य बनाउने लक्ष्य राखिएको छ।
आगामी सुखायामको विद्युत् माग तथा आपूर्ति योजना
प्राधिकरणका अनुसार आगामी सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत् क्षमता १ हजार २१८ मेगावाट रहनेछ। प्राधिकरणको हालको ३ हजार ७३९ दशमलव ४० मेगावाट जडित क्षमतामा मंसीरसम्म ३२० दशमलव ६० मेगावाट थप भई कुल क्षमता ४ हजार ६० मेगावाट पुग्ने र त्यसको ३० प्रतिशत उत्पादन सुखायाममा प्राप्त हुने प्रक्षेपण गरिएको छ।
सुखायाममा माग र आपूर्तिको सन्तुलन कायम राख्न ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी (RTC) मार्फत १५० मेगावाट गरी कुल १ हजार १५४ मेगावाट विद्युत् विभिन्न प्रक्रियाबाट आयात गरिनेछ। सो योजना अनुसार सुखायाममा कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाट पुग्नेछ, जुन अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय माग (२ हजार २९२ मेगावाट) भन्दा पर्याप्त बढी हो।