काठमाडौं। बाढी तथा पहिरोबाट क्षतिग्रस्त पूर्वाधारहरूको पुनस्र्थापना र पुनर्निर्माणका लागि करिब रु. १०० अर्ब बजेट आवश्यक पर्ने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा पुगेको क्षतिबारे जानकारी दिँदै मन्त्री लम्सालले उक्त विवरण पेस गरेका हुन्।
बैठकलाई सम्बोधन गर्दै मन्त्री लम्सालले बाढीपहिरोको जोखिमलगत्तै सरकारले आपत्कालीन क्याबिनेट बैठकमार्फत मन्त्रालयहरूलाई जिम्मेवारी तोकेको र सोहीअनुसार पहिलो चरणमै क्षति मूल्याङ्कन, भग्नावशेष पन्छाउने तथा सडक सञ्जाल पुनः जोड्ने काम सुरु गरिएको बताए। केही स्थानमा भदौ १२ गतेदेखि नै र बाँकी स्थानमा भदौ १६ र १७ गते आपत्कालीन प्रक्रियामार्फत टेन्डर आह्वान गरी काम अघि बढाइएको जानकारी उनले दिए।
विशेष गरी कृष्णभीरमा गएको पहिरो समाधानका लागि जियोटेक्निकल विज्ञहरूको टोलीले तयार पारेको डिजाइनका आधारमा ब्लास्टिङ र सडक निर्माणको काम भइरहेको छ। सडक विभागले क्षतिग्रस्त सडक, दुईवटा नयाँ वैकल्पिक मार्ग, र भविष्यमा आउन सक्ने विपद् व्यवस्थापनलाई लक्षित गरी करिब रु. ९० अर्बको पूर्वाधार पुनर्निर्माण विवरण विपद् व्यवस्थापन प्राधिकरणमा पठाएको उनले जानकारी गराए।
मन्त्री लम्सालका अनुसार खानेपानी, भवन तथा पुललगायत अन्य संरचनाहरूको समेत एकीकृत क्षतिको विवरण आउँदा कुल बजेट रु. १०० अर्ब पुग्ने अनुमान छ। तत्कालका लागि अन्य आयोजनाहरूबाट बजेट रकमान्तर गरेर निर्माण कार्य निरन्तर राखिने र दीर्घकालीन बजेट व्यवस्थापनका लागि 'पोस्ट डिजास्टर निड्स असेसमेन्ट' (पीडीएनए) गरिने उनले स्पष्ट पारे।
अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा पीडीएनए प्रतिवेदन तयार पारेपछि यसअघि भूकम्पका बेला जस्तै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि औपचारिक आह्वान गरिने मन्त्री लम्सालले बताए।