काठमाडौँ । जेनजी आन्दोलन क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सञ्चालनमा आएको छ।
सोमबार बिहानदेखि भाटभटेनीको टंगाल स्टोर सञ्चालन भएको हो। शुभारम्भका लागि अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ पनि स्टोरमा पुगेका थिए।
आज बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिने बताइएको छ। गत भदौको जेनजी आन्दोलनका क्रममा २४ गते प्रदर्शनकारीहरूले भाटभटेनीमा आगो लगाएका थिए।
आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको हो।
कम्पनीका अनुसार जेनजी आन्दोलन क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ स्टोरमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी दमक र हेटौंडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
ती दुवै स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले कठिन परिस्थितिबीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
आगजनीबाट स्टोरहरूमा ठूलो क्षति पुगे पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनः सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको उनले बताएका छन्।
'मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए। तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौं,' गुरूङले भनेका छन्, 'हामी एउटा निष्कर्षमा पुग्यौं– खरानीबाट फेरि उठ्ने छौं।'
आन्दोलन क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ।
कठिन अवस्थामा समेत कर्मचारीलाई सेवाबाट अलग नगरिएको र गत वर्षको दसैं बोनससमेत कटौती नगरिएको कम्पनीको भनाइ छ।
'हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौं। गत वर्षको दसैं बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौं,' गुरूङले विज्ञप्तिमार्फत भनेका छन्।
कम्पनीले पुनर्निर्माण क्रममा चौबीसै घन्टा खटिएका कर्मचारी तथा सहयोगीहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ।
टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
साथै, आगामी दिनमा आधुनिक सुविधा, गुणस्तरीय सेवा र सहज किनमेलको वातावरण उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ।
पुनर्निर्माणमा साथ दिने ग्राहक, सहयोगी संस्था तथा शुभेच्छुक र प्रतिकूल परिस्थितिमा निरन्तर खटिएका कर्मचारीप्रति कम्पनीले विशेष आभार व्यक्त गरेको छ।