काठमाडौँ । २० वटा वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदरलाई स्थिर राखेका छन् । केही बैंककाे ब्याजदर भने घटेको छ ।
कात्तिकको तुलनामा मंसिरमा १४ वटा वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ६ वटा बैंकले ब्याजदर घटाएका छन् । तर, मंसिरका लागि ब्याजदर बढाउने बैंकको संख्या भने शुन्य छ ।
कुन बैंकमा कति ब्याज ?
मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैतर्फ सबैभन्दा धेरै ब्याज दिने बैंक सानिमा बैंक रहेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ सानिमाले कात्तिककै दरलाई निरन्तरता दिँदै अधिकतम ४.५ प्रतिशत ब्याजदर तोकेको छ। यसपछि एनएमबि बैंक र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।
व्यक्तिगततर्फ अधिकतम ब्याजदर सबैभन्दा कम रहेको माछापुच्छ्रे बैंकको ३.५ प्रतिशत रहेको छ। यस्तै कुमारी बैंकले ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले ३.६५ प्रतिशत तोकेका छन्।
त्यस्तै संस्थागततर्फ सानिमाले अधिकतम ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। दोस्रो स्थानमा रहेको नेपाल बैंकले ३.५ प्रतिशत र एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन तथा एनएमबि बैंकले ३.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नबिल, सिटिजन्स, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र प्रभुसहित ९ वाणिज्य बैंकले समान न्यूनतम २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
यी हुन् ब्याजदर घटाउने बैंक
मंसिरका लागि ६ वटा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने संस्थागततर्फ एनएमबि बैंकले मात्र दर घटाएको छ । एनएमबिले यसअघि रहेको ३.५० प्रतिशतको न्यूनतम दरलाई ०.२५ प्रतिशत विन्दुले घटाएर ३.२५ प्रतिशतमा झारेको हो ।
व्यक्तिगततर्फको अधिकतम ब्याजदरतर्फ माछापुच्छ्रे बैंकले १ प्रतिशत विन्दुले घटाएर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ। त्यस्तै, कृषि विकास बैंकले ४.१५ बाट ३.६५ प्रतिशत कायम गरेको छ। एनएमबि बैंकले ०.२५ प्रतिशत बिन्दुले घटाएर ३.२५ प्रतिशत तोकेको छ।
त्यस्तै, लक्ष्मी सनराइज बैंक ०.२५ प्रतिशत बिन्दुले घटाएर ४ बाट ३.७५ प्रतिशत, कुमारी बैंकले व्यक्तिगततर्फ ०.०९ प्रतिशत बिन्दुले घटाएर ३.७ बाट ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.७ बाट ३.६५ प्रतिशत कायम गरेको छ ।
यी सबै अधिकतम ब्याजदहरु सामान्यतया पाँच वर्ष वा सोभन्दा बढी समयमा लागि तोकिएका ब्याजदर हुन् । एकवर्षे मुद्दती निक्षेपका लागि भने अधिकांश बैंकको ब्याजदर २.७५ प्रतिशत नै कायम रहेको छ । यो दर राष्ट्र बैंकले कायम गरेको ब्यादर करिडोरको तल्लो सीमा हो ।