संविधान दिवसमा राष्ट्रपतिको सन्देश: 'संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔं'

संविधान दिवसमा राष्ट्रपतिको सन्देश: 'संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔं'

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी-समानुपातिक प्रतिनिधित्व र सामाजिक-आर्थिक रूपान्तरणको बलियो जग बसालेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशभित्र तथा बाहिर रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्नेमा जोड दिए।

२०७२ असोज ३ गते संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न यो दिवसले सबैलाई एकजुट हुने प्रेरणा दिने विश्वास व्यक्त गरे।

त्यस्तै, उनले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउने राजनीतिक नेतृत्व, नागरिक र कार्यकर्ताहरूको योगदानको कदर गरे।

नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विविधता एवं बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान नै प्रमुख विशेषता भएको उल्लेख गर्दै उनले संविधानले सबै समुदायलाई समान संरक्षण दिएको प्रस्ट पारे। साथै, राष्ट्रपति पौडेलले नेपालीहरूबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सबैमा आग्रहसमेत गरेका छन्।

छुटाउनुभयो कि ?