काठमाडौँ । लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबार आर्थिक वर्ष २०८२-८३ मा उल्लेख्य रूपमा चलायमान भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
वर्षभरि घरजग्गाको कुल कारोबार ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको तुलनामा करिब ८७ प्रतिशत बढी हो।
नेपाल राष्ट्र बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र बैंकबाट संकलित तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारको संख्या ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।
घरजग्गा बजारमा आएको सुधार आर्थिक वर्षको अन्तिम त्रैमासमा झन् तीव्र देखिएको छ। चौथो त्रैमासमा मात्रै घरजग्गाको कुल कारोबार २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँमा सीमित थियो। अर्थात् एक वर्षमै चौथो त्रैमासको कारोबार मूल्य दोब्बरभन्दा बढी भएको छ।
चौथो त्रैमासमा घरजग्गा कारोबारको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो।
कारोबारको प्रकृतिलाई हेर्दा लिखत पारित अन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको छ। त्यसमा पनि राजीनामा कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। समीक्षा अवधिमा राजीनामा कारोबार संख्या २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राजीनामा कारोबार ८.१५ प्रतिशत मात्रै बढेको थियो।
घरजग्गाको कारोबार संख्या मात्रै होइन, कारोबार भएको क्षेत्रफलसमेत बढेको छ। चौथो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।
घरजग्गा बजार चलायमान भएसँगै सरकारको राजस्वमा समेत त्यसको प्रत्यक्ष प्रभाव परेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ। त्यस्तै, घरजग्गा कारोबारबाट उठेको पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजस्व २३.४५ प्रतिशत र पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।
घरजग्गा बजारमा सुधार आउँदा बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा पनि बढेको छ। आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा समीक्षा अवधिमा ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।
बागमतीमा तीव्र बढोत्तरी
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गा बजारको गतिविधि सबैभन्दा तीव्र देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बागमतीमा घरजग्गाको राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो कारोबार ३.४४ प्रतिशतले घटेको छ। बाँकी सबै प्रदेशमा राजीनामा कारोबार बढेको छ।
कारोबार भएको कुल क्षेत्रफलमा पनि बागमती अगाडि छ। बागमतीमा घरजग्गा कारोबार भएको क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ।
तर कारोबारको मूल्य हेर्दा भने सातै प्रदेशमा बजार विस्तार भएको देखिन्छ। चौथो त्रैमासमा सबै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। बागमतीमा यस्तो मूल्य १७५.३३ प्रतिशतले बढ्दा मधेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतको वृद्धि भएको छ।
सातै प्रदेशमा २.५ देखि १० आनासम्म क्षेत्रफलका प्लटको कारोबार सबैभन्दा बढी भएको छ। अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा भने २० आनाभन्दा ठूला प्लटको कारोबार सबैभन्दा धेरै भएको थियो। अन्य प्रदेशमा २.५ देखि १० आनासम्मका प्लट नै बढी कारोबार भएका थिए।
काठमाडौंमा घरजग्गा कारोबार साढे दुई गुणाभन्दा बढी
महानगरपालिकातर्फ घरजग्गा बजारको अझै बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा घरजग्गाको कुल कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ।
ललितपुर महानगरपालिकामा कारोबार संख्या १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले बढेको छ। विराटनगर महानगरपालिकामा भने कारोबार संख्या ४७.५९ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।
कारोबार भएको कुल क्षेत्रफल पनि सबै महानगरपालिकामा बढेको छ। काठमाडौंमा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने वीरगञ्जमा सबैभन्दा कम १३.३१ प्रतिशतले बढेको छ।
महानगरपालिकाहरूमा कारोबारको मूल्यसमेत सबै ठाउँमा बढेको छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य २१७.४० प्रतिशतले बढेको छ, जुन महानगरपालिकामध्ये सबैभन्दा उच्च वृद्धि हो।
उपमहानगरमा हेटौंडाको छलाङ
उपमहानगरपालिकातर्फ पनि घरजग्गा बजार विस्तार भएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कलैयाबाहेक सबै उपमहानगरपालिकामा घरजग्गा कारोबारको संख्या बढेको छ। धनगढीमा यस्तो कारोबार ७३.१६ प्रतिशतले बढेको छ भने कलैयामा कारोबार संख्या स्थिर छ।
कारोबार भएको कुल क्षेत्रफल भने सबै उपमहानगरपालिकामा बढेको छ। हेटौंडामा यस्तो क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ।
कारोबारको कुल मूल्य हेर्दा सबै ११ उपमहानगरपालिकामा वृद्धि भएको छ। हेटौंडा उपमहानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य १८६.८० प्रतिशतले बढेको छ।