काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीलाई ‘छापा मार सरकार’को संज्ञा दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष ओलीले सरकारको कदमप्रति व्यङ्ग्य व्यक्त गरेका हुन्।
सञ्चार जगत् र प्रेस स्वतन्त्रताका विषयमा बोल्दै अध्यक्ष ओलीले डिजिटल युगमा पनि छापा माध्यमको आफ्नै छुट्टै र दीर्घकालीन महत्त्व रहेको उल्लेख गरे। अनलाइन वा डिजिटल माध्यममा प्रकाशित सामग्री सहजै मेटाउन सकिने भए पनि छापा माध्यममा आउने समाचार र विचार ऐतिहासिक दस्तावेजका रूपमा रहने भएकाले यसमा लेख्ने मानिस थप जिम्मेवार र होसियार हुनुपर्ने उनको भनाइ थियो।
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास कठिन संघर्षबाट निर्माण भएको स्मरण गराउँदै ओलीले विगतमा एउटा कविता लेखेकै भरमा १८ वर्षसम्म जेल बस्नुपरेको र शास्त्रका कुरा वाचन गर्दा फाँसीसम्म दिइएको तीतो यथार्थ सुनाए। निरंकुशता र प्रतिगमनका विरुद्ध लामो लडाइँ लडेर यहाँसम्म आइपुगेकाले प्रेस स्वतन्त्रताविरोधी कदमहरू अब धेरै समय टिक्न नसक्ने उनले दाबी गरे।
छापा माध्यमका सञ्चारकर्मी तथा पत्रकारहरूले उठाएका जायज मागहरूमा नेकपा एमालेको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धतासमेत उनले जनाए। स्वतन्त्रताको रक्षाका लागि आफूहरूले विगतमा जेलनेल र यातना भोगेको उल्लेख गर्दै ओलीले सत्य र अधिकारको पक्षमा निरन्तर आवाज उठाउन सञ्चार क्षेत्रलाई आग्रह गरे।