काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रम आगामी असोज १ गते आयोजना हुने भएको छ।
उपभोक्ताहरूलाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र कर प्रणालीमा अभ्यस्त गराउने उद्देश्यका साथ सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
साउन १ गतेदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत भदौ १६ गते हुनुपर्ने पहिलो चरणको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा उत्पन्न प्राकृतिक विपत्तिका कारण रोकिएको थियो। आन्तरिक राजस्व विभागले अब असोज १ गते नै भदौ महिनाभरिको पुरस्कार एकैसाथ घोषणा गर्ने तयारी पुरा गरेको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १ गते दुई चरणमा गरी कुल ३३ जना विजेताहरूको नाम सार्वजनिक गरिनेछ।
पहिलो चरणअन्तर्गत भदौ १ देखि १५ गतेसम्मको कारोबारबाट दैनिक एक जनाका दरले १५ जना उपभोक्तालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी दोस्रो चरणअन्तर्गत भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि दैनिक एक जनाका दरले १६ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र अर्को एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार दिइनेछ।
यस प्रकार असोज १ गते भदौ महिनाका ३१ जनालाई १ लाख ३३ हजार ३३४ रुपैयाँ र २ जनालाई १०–१० लाख रुपैयाँका बम्पर पुरस्कार गरी कुल ३३ जना विजेता छनोट गरिनेछ। प्रचलित कानुनअनुसार दुवै पुरस्कार रकममा २५ प्रतिशत आकस्मिक लाभकर कट्टी हुनेछ। कर कटाएपछि १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेले खुद १ लाख रुपैयाँ र १० लाख जित्नेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पुरस्कारका लागि योग्य हुन उपभोक्ताले कम्तीमा सय रुपैयाँ वा सोभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिएको हुनुपर्ने व्यवस्था गरिएको थियो।
डिजिटल वा अनलाइन भुक्तानी गर्दा प्राप्त बिल स्वतः विभागको प्रणालीमा प्रविष्ट हुने भए पनि नगद भुक्तानी गरेका उपभोक्ताले भने प्राप्त बिल आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा अपलोड गरी उपहार कुपन लिनुपर्ने प्रावधान राखिएको थियो। यसअघि साउन महिनाको प्रोत्साहन पुरस्कार कार्यक्रममा ३३ जना विजेता छनोट भइसकेका छन्, जसको भाग्यशाली विजेता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छनोट गरेका थिए।