रसुवा । बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्।
खोप अभियानअन्तर्गत लक्षित चार पालिकाभित्रका १ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई हैजाविरुद्धको खोप लगाइँदैछ । तर, हाल ज्वरो आएका र पखाला लागिरहेका बिरामीलाई भने यो खोप लगाइने छैन। उनीहरू निको भएपछि मात्र खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
यसैगरी,बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत वितरणमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई हैजाको खोपका साथै ’टिटानस र डिप्थेरिया’विरुद्धको खोप पनि लगाइने व्यवस्था मिलाइएको छ ।
दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जलजन्य रोग फैलन सक्ने जोखिम उच्च रहने भएकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको हो । स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली खटाएर सञ्चालन गरिएको अभियानमा सहभागी भई तोकिएका केन्द्रबाट खोप लिन स्वास्थ्य प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।