काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढी-पहिरोबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन गरेका छन्। बिहीबार देउवासँगै कांग्रेस नेताहरू डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह र मोहनबहादुर बस्नेतलगायतका टोली प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेका हुन्।
अवलोकनका क्रममा देउवाले बाढी-पहिरोपीडित स्थानीयसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिए। सडक तथा यातायातको पहुँच अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा पर्याप्त राहत नपुगेको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा विपद्ले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले पीडितका लागि तत्काल उद्धार, राहत, अस्थायी आवास र दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन माग गरे।
देउवाले भने, “अहिले यहाँ गर्नुपर्ने मुख्य काम भनेकै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण हो। बाढीबाट जोगिएका नागरिकहरू खुल्ला आकाशमुनि छन् भने धेरैले ज्यान गुमाएका छन्। बाँचेकाहरूले पनि अझै राम्रोसँग खान-बस्न पाएका छैनन्। उनीहरूलाई गाँस, बास र न्यायोचित राहत दिनु राज्यको दायित्व हो।”
उनले जलवायु परिवर्तन र विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) का कारण नेपाल बाढी-पहिरोजस्ता विपद्को उच्च जोखिममा परेको बताउँदै हिमालमा हिउँ पग्लिने क्रम बढ्दा आगामी दिनमा थप चुनौती सामना गर्नुपर्ने चेतावनी दिए। प्रभावित क्षेत्रमा सरकारले गरिरहेका काम पर्याप्त नभए कांग्रेसले सदन, सञ्चारमाध्यम र सडकबाट दबाब दिने स्पष्ट पारे।
त्यस्तै, कांग्रेस नेता डा. प्रकाशशरण महतले विपद्पछिको तत्कालीन राहतसँगै विस्थापितहरूका लागि अस्थायी आवास, दीर्घकालीन पुनर्स्थापना र क्षति पुगेका पुल तथा सडकजस्ता पूर्वाधार निर्माणमा राज्य स्वयम् सक्रिय हुनुपर्नेमा जोड दिए। खासगरी यातायातको पहुँचबाट विच्छेद भएका क्षेत्रहरूमा तत्काल बेली ब्रिज तथा अस्थायी संरचना निर्माण गरी आवतजावत सहज बनाउन उनले सरकारसँग जोडदार माग गरे।