बाढीपीडितका लागि यशोदा ग्रुपले गर्‍यो ३ करोड ८१ लाख बराबरको सहयोग

बाढीपीडितका लागि यशोदा ग्रुपले गर्‍यो ३ करोड ८१ लाख बराबरको सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन: स्थापनाका लागि यशोदा ग्रुपले आर्थिक र भौतिक सहयोग गरेको छ।

ग्रुप अन्तर्गतका यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाको प्रा.लि.ले संयुक्त रूपमा कुल ३ करोड ८१ लाख ५१ हजार बराबरको राहत सहयोग उपलब्ध गराएका हुन्। कम्पनीले नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग प्रदान गरेको छ।  रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।

अत्यावश्यक खाद्य सामग्री प्रत्यक्ष वितरण नगद सहयोगका अतिरिक्त कम्पनीले बाढीबाट अति प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङका पीडितहरू तथा आश्रयस्थलहरूमा ३० लाख बराबरको चाउचाउ राहत सामग्रीका रूपमा पठाएको छ। उक्त खाद्य सामग्री सम्बन्धित निकायको समन्वयमा प्रभावित जनतालाई प्रत्यक्ष रूपमा वितरण गरिसकिएको छ।

यस विपत्तिको कठिन परिस्थितिमा आगामी दिनहरूमा पर्न सक्ने जुनसुकै किसिमको सहयोगका लागि पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।