काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, पुनर्निर्माण तथा दसैँअघि नै सडक यातायात सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै उनले बाढीपीडितको पुनःस्थापना र होल्डिङ सेन्टर व्यवस्थापनलाई तीव्रता दिन आग्रह गरेका हुन्।
छलफलका क्रममा राष्ट्रपति पौडेलले भौगोलिक विकटताका कारण सडक सञ्चालनमा कठिन भए ठूला बेलिब्रिज निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन सुझाव दिए।
साथै, जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षतिको क्षतिपूर्ति दाबी गर्दै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा जोडदार आवाज उठाउनुपर्ने उनको भनाइ थियो। बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका आधारमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर पुनर्निर्माणमा लाग्न निर्देशन दिए।
भेटमा मन्त्रीद्वयले दसैँअघि नै सडक सञ्चालनमा ल्याउने र बाढीपीडितका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सम्पन्न गर्ने गरी रातदिन काम भइरहेको जानकारी गराए। मित्रराष्ट्रहरूसँग ठूला बेलिब्रिजका लागि आग्रह गरिसकिएको र सामग्रीहरू आउने क्रममा रहेको बताउँदै उनीहरूले वैकल्पिक सडक निर्माण कार्यलाई समेत तीव्रता दिइएको स्पष्ट पारे।
उक्त भेटघाटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलको समेत उपस्थिति रहेको थियो।