टेलिभिजन प्रस्तोतासहित १२ जनालाई मृत्युदण्डको सजाय

टेलिभिजन प्रस्तोतासहित १२ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं । इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ ।

सरकारी स्वामित्वको समाचारपत्र अल–अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले आपराधिक गिरोह सञ्चालनमा संलग्न थिए ।

गिरोहसँग अवैध हतियार र गोलीगठ्ठासमेत रहेको अदालतले ठहर गरेको छ । ३९ वर्षीया खलिफा अपराधसम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ का कारण चर्चित छिन् ।

उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएकी छन्। उनका वकिलले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

मुद्दामा अन्य ९ जना प्रतिवादीलाई आजीवन कारावास र ७ जनालाई सफाइ दिइएको छ ।

फैसला पहिलोपटक गत महिना घोषणा गरिएको थियो। तर मृत्युदण्डसम्बन्धी मुद्दामा इजिप्टका ग्रान्ड मुफ्तीबाट धार्मिक राय लिनुपर्ने कानुनी व्यवस्था भएकाले अदालतले उक्त राय प्राप्त गरेपछि मात्रै फैसला औपचारिक रूपमा पुष्टि गरेको हो ।

सुनुवाइका क्रममा अधिकारीहरूले ७५० किलोग्रामभन्दा बढी लागुऔषध तथा लागुऔषध बनाउन प्रयोग हुने आयातित कच्चा पदार्थ बरामद गरेको अदालतलाई जानकारी दिइएको थियो ।

मुद्दामा २० जना साक्षीले अभियोजन पक्षसमक्ष बयान दिएका थिए। यस्तै, कुराकानी र भिडियो क्लिपसहितका विद्युतीय प्रमाणसमेत अदालतमा पेस गरिएको अल–अहरामले जनाएको छ ।

सरकारी समाचारपत्र अखबार अल–यौमका अनुसार गत सेप्टेम्बरमा भएको अदालतको सुनुवाइमा न्यायाधीशले खलिफालाई उनको कथित भूमिकाबारे प्रश्न गरेका थिए ।

त्यस क्रममा उनले लागुऔषध नियन्त्रण निकायको कार्यालयमा आफूलाई त्यससँगै फोटो खिचाइएपछि मात्रै आफूले लागुऔषध देखेको दाबी गरेकी थिइन् ।

एम्नेस्टी इन्टरनेसनलको २०२५ को प्रतिवेदनअनुसार उक्त वर्ष इजिप्टमा ४९२ वटा मृत्युदण्डका फैसला सुनाइएका थिए भने तीमध्ये २३ वटा मृत्युदण्ड कार्यान्वयन भएका थिए ।

प्रतिवेदनले यस मुद्दाका प्रतिवादीहरूलाई लागुऔषध ओसारपसार र बलात्कारजस्ता अपराधमा दोषी ठहर गरिएको उल्लेख गर्दै यी अपराधहरू ‘जानाजानी हत्या’को श्रेणीमा नपर्ने र अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डअनुसार मृत्युदण्डको प्रयोग जानाजानी हत्याजस्ता गम्भीर अपराधमा मात्र सीमित हुनुपर्ने बताएको छ ।

छुटाउनुभयो कि ?