तीन दिनमा काठमाडौं भित्रिए ८७ हजार ८७७ सिलिण्डर, अभाव हट्ला ?

तीन दिनमा काठमाडौं भित्रिए ८७ हजार ८७७ सिलिण्डर, अभाव हट्ला ?

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले तराईका विभिन्न ग्यास उद्योगबाट एलपी ग्यासका सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था गरेको छ।

नेपाल आयल निगमले काठमाडौं,धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका लागि पर्सा,मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिल गरिएका सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याई बिक्री वितरण गर्न व्यवस्था मिलाइएको जनाएको छ।

निगमका अनुसार तीन दिनमा विभिन्न ग्यास उद्योगबाट गरी पहिलो दिन भदौ १८ गते २४ हजार ४२४, दोस्रो दिन भदौ १९ गते ३४ हजार १३४ र तेस्रो दिन भदौ २० गते २९ हजार २४९ सिलिन्डर काठमाडौं ल्याएको हो।

निगमका अनुसार श्री ग्यास,सूर्य, ओम, श्रीराम, सागर, साइबाबा, श्रीमाया, लोकप्रिय, एभरेष्ट, सुगम, नेपाल, एचपी, एसटीसी सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्राण्डका ८७ हजार ८७७ वटा सिलिण्डहरू रिफिल गरी काडमाडौं ल्याएको हो।

सडक नियमित सञ्चालनमा नआएसम्म प्रक्रियाअनुसार एलपी ग्यासका सिलिण्डहरू ल्याइ बिक्री वितरण गरिने निगमले जनाएको छ। तर, उपभोक्ताले भने ग्यास नपाएको गुनासो गर्दै आएका छन्। 

​​​​​​कृष्णभिर खण्डमा पहिरो गएपछि भदौ १४ गतेदेखि उक्त सडक अवरुद्ध भएको हो।

छुटाउनुभयो कि ?