काठमाडौँ । नेपालले लगातार तेस्रो जित निकाल्दै एक खेलअगावै एसीसी प्रिमियर कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा नेपालले साउदी अरेबियालाई पाँच विकेटले हराएको हो ।
साउदीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालका गुल्सनकुमार झाले अविजित ४४, इशान पाण्डेले ४०, देव खनालले ३९, रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।
तेस्रो विकेटका निम्ति इशान र देवले ७३ रनको साझेदारी गरे । छैटौँ विकेटका निम्ति गुल्सन र रोहितले अविजित ६१ रनको साझेदारी गरे । साउदीका इश्तियाक अहमद र मोहम्मद अतिफले दुई/दुई तथा मोहम्मद हिशाम शेखले एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको साउदीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । साउदीका अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान गरे । उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे ।
मोहम्मद अतिफले ३०, मोहम्मद हिशाम शेखले २८, मोहम्मद सकिबले १४, जैनुल अबिदिनले १२ र इश्तियाक अहमदले अविजित १० रन बनाए । दोस्रो विकेटका निम्ति वाहिद र अतिफबीच ९४ रनको साझेदारी भएको थियो ।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन/तीन, ललितनारायण राजवंशीले दुई तथा शेर मल्ल र गुल्सनले एक/एक विकेट लिए ।लगातार तेस्रो जितसँगै तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले यसअघि बहराइन र मलेसियालाई हराएको थियो ।
तेस्रो पराजय व्यहोरको साउदीले भने चार खेलबाट दुई अंकका साथ प्रतियोगिताको अन्त्य गरेको छ । हङकङ र मलेसियासँग पनि पराजित साउदीले बहराइनलाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।