चितवन। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा सिर्जित ग्यासको अभाव हटाउन उद्योगीहरू सक्रिय भएका छन्। नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरूले वैकल्पिक व्यवस्था मिलाएका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी र सदस्य विमल कालाखेतीसहितको टोलीले मकवानपुरका ट्रक व्यवसायीहरूसँग छलफल गरी ढुवानीलाई सहज बनाउने प्रयास थालेको छ।
संघका पूर्वअध्यक्ष भण्डारीका अनुसार सङ्घीय राजधानी बाहिरका उद्योगहरूमा खाली सिलिण्डरको सङ्ख्या कम छ। त्यसैले सङ्घीय राजधानीमा रहेका खाली सिलिण्डरलाई ट्रकमा राखेर बाहिरका उद्योगसम्म पुर्याउने र तिनै ट्रकमार्फत भरिएका सिलिण्डर उपत्यका भित्र्याउने रणनीति बनाइएको छ।
नेपाल ग्यासका सञ्चालक समेत रहेका भण्डारीका अनुसार नेपाल ग्यासका सिलिण्डरहरू चितवनस्थित नेपाल ग्यास गण्डकीको प्लान्टमा ‘बोटलिङ’ भइरहेका छन्।
यद्यपि, खाली सिलिण्डरको अभावका कारण मागअनुसार ग्यास भर्न सकिएको छैन। नेपाल ग्यासले उपत्यकामा दैनिक ११ हजार सिलिण्डर बिक्री गर्दै आएकोमा केही दिनभित्रै दैनिक आठदेखि १० हजार सिलिण्डर काठमाडौँ पठाउने गरी तयारी अघि बढाइएको छ।
सङ्घका सदस्य विमल कालाखेतीका अनुसार अन्य उद्योगले पनि ट्रकमा खाली सिलिण्डर उपत्यका बाहिर ल्याएर ‘बोटलिङ’ गरी लैजान थालेका छन्। रातिको समयमा कान्ति लोकपथमा गाडी गुडाउन नपाइने भएकाले खाली सिलिण्डर बोकेका ट्रकहरू आउन केही ढिलाइ भएको छ।
हाल बाबा ग्यासले नौबिसेको श्री ग्यासका सिलिण्डर ‘बोटलिङ’ गरेर पठाएको छ भने चितवनको साईबाबाले आफ्नै सिलिण्डर काठमाडौँ पठाइरहेको छ। गैंडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौँको एभरेष्ट र सुगम ग्यास भरेर पठाइएको छ।
त्यसैगरी बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायतले राजधानी बाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै सिलिण्डर पठाउन सुरु गरेका छन्। उपत्यका र छिमेकी जिल्लामा गरी कूल १६ वटा ग्यास उद्योग सञ्चालनमा रहेका छन्।
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिण्डर आवश्यक पर्ने गर्छ। तर, अहिलेको संकटपूर्ण अवस्थामा एक लाख सिलिण्डरसम्म खपत हुन सक्ने अनुमान छ। उद्योगीहरूले सङ्गठित रूपमा उद्योग र ढुवानीको प्रबन्ध मिलाइरहेकाले केही दिनभित्रै समस्या समाधान हुने चन्दले बताए।
उनले उपभोक्ताहरूलाई आवश्यक मात्रामा मात्र सिलिण्डर साट्न र घरमा अनावश्यक मौज्दात नराख्न समेत आग्रह गरे। एउटा ग्यास बोक्ने बुलेटमा ४५० सिलिण्डर बराबरको ग्यास आउँछ। ठूलो ट्रकले भरिएका ५०० सिलिण्डर र खाली भने ६०० को हाराहारीमा बोक्न सक्ने उनले जानकारी दिए। नेपालका ५८ उद्योगले भर्ने कुल ग्यासको ४० प्रतिशत खपत उपत्यकामै हुने गर्छ।
राजधानी बाहिरका नजिकका उद्योगहरूले अहिले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन्। गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाण हो। सोही अनुपातमा नियमित ग्यास आइरहेकाले आपूर्तिमा दीर्घकालीन समस्या नपर्ने सङ्घले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पाेरेशनको ग्यास वितरण प्रणाली
साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाना पकाउने ग्यासको आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीहरूसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिण्डर’मा ग्यास भर्न सुरुआत गरेको छ।
गत आइतबार धादिङको कृष्णभिरमा त्रिशूली नदीको कटानले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीका ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिण्डर’ बोटलिङ गरेर काठमाडौँ ल्याउने नीति लिएको हो।
राजमार्ग अवरुद्ध हुँदा कर्पोरेशनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’ प्रभावित बनेको छ।
आफ्नो प्लान्टसम्म ग्यासका बुलेटहरू पुग्न सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टहरूसँग सहकार्य गरी आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्र्याउने प्रबन्ध मिलाएको छ। विषम प्राकृतिक विपद्को अवस्थालाई ध्यानमा राख्दै कर्पोरेशनले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यो कदम चालेको जनाएको छ।
नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात् ‘पिडियो’ मात्र अनुमति प्रदान गर्दा पर्याप्त ग्यास बिक्री गर्न सकिएको छैन। निगमले भारतीय आयल कर्पोरेशनबाट कूल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र कर्पोरेशनको भागमा परेका छन्। कर्पोरेशनले हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘एसटिसी सिलिण्डर’ खपत गर्दै आएको छ।
निजी क्षेत्रका ग्यास कम्पनीहरूले खाडी सङ्कट वा सडक अवरुद्धको बहाना देखाउँदा उपभोक्ताहरू समस्यामा पर्ने गरे पनि कर्पोरेशनले भने हाल कुपन प्रणालीमार्फत बिक्री वितरणलाई सहज र पारदर्शी बनाइराखेको छ।