सरकारको कोषमा रकम जम्मा भए पनि पीडित भोकै छन्: केपी ओली

सरकारको कोषमा रकम जम्मा भए पनि पीडित भोकै छन्: केपी ओली

काठमाडौं।  नेकपा एमालेले भोटेकोशी बाढीपीडितको सहयोगका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ। सोही अभियानअन्तर्गत सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख गरी कुल २० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका छन्।

रकम ग्रहण गर्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बद्ध निकायहरूबीच तीव्र समन्वय हुनुपर्नेमा जोड दिए। सरकारी कोषमा रकम र राहत सामग्री जम्मा भए पनि वास्तविक पीडितसम्म पुग्न नसकेको भन्दै उनले सरकारको फितलो व्यवस्थापनप्रति असन्तुष्टि जनाए।

"केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पाउन सकेका छैनन्। यस्तो स्थितिलाई अन्त्य गर्न हामीले पहल गरिरहेका छौँ," ओलीले भने। उनले राहत साँचैका पीडितकहाँ पुर्‍याउनु मुख्य विषय भएको भन्दै एमालेले सरकारको मुख नताकी आफ्नै खर्चमा छिटोछरितो ढङ्गले उद्धार र राहत वितरण जारी राख्ने स्पष्ट पारे।

ओलीले निजी क्षेत्रका हेलिकप्टर र तालिमप्राप्त जनशक्तिलाई उद्धारमा परिचालन गर्न दिए धेरै नागरिकको ज्यान जोगिने धारणा राखे। साथै, यो विनाशकारी विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै उनले वातावरण विनाशमा योगदान नगरेका नेपालजस्ता मुलुकले व्यहोरेको क्षतिको क्षतिपूर्ति विकसित देशहरूले दिनुपर्ने र यसका लागि संयुक्त राष्ट्रसङ्घले स्पष्ट मापदण्ड बनाउनुपर्ने माग गरे।