काठमाडौँ ।आज सुनचाँदीकै मूल्यमा पहिरो गएको छ।
सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो।
गत शुक्रबार सुनको भाउ ३ लाख १८ हजार ५ सय थियो। त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १ सय ८५ रुपैयाँ घटेको छ। मूल्य घटेर चाँदीको भाउ आज तोलाको चार हजार ७ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
गएको शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ थियो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।