देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन्।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा सहभागी भई करिब तीन मिनेट सम्बोधन गर्दै देउवाले यस्तो धारणा राखेका हुन्। सम्बोधनका क्रममा उनले विमानस्थलदेखि नै आफूलाई प्राप्त उत्साहजनक समर्थनका लागि कार्यकर्ताहरूलाई धन्यवाद दिँदै देश हाल अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए।

पछिल्लो समय आफूविरुद्ध जारी पक्राउ पुर्जी तथा अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी गर्ने प्रयासतर्फ संकेत गर्दै देउवाले अदालतप्रति गहिरो कृतज्ञता व्यक्त गरे। पञ्चायतकालमा जेलमुक्त गराएको र राजाको शासनमा समेत शाही आयोग खारेज गरेर न्यायालयले नै आफूलाई बचाएको स्मरण गर्दै उनले अहिले पनि अदालतकै कारण आफू फर्कन सकेको उल्लेख गरे।

यस्तै पार्टीभित्रको पछिल्लो आन्तरिक विवादबारे बोल्दै देउवाले सबैको सहमतिमा विशेष महाधिवेशन गर्ने भनिए पनि बलजफ्ती रूपमा आयोजना गरेर धेरै निष्ठावान् साथीहरूलाई अन्यायपूर्वक बाहिर पारिएको आरोप लगाए। विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले धेरै टिप्पणी नगर्ने तर न्याय पाइनेमा विश्वास व्यक्त गरे।

सम्बोधनको ठूलो हिस्सा धार्मिक विषयमा केन्द्रित गर्दै देउवाले आफू व्यक्तिगत रूपमा पशुपतिनाथको पूजा गर्ने कट्टर हिन्दु भएको प्रष्टीकरण दिए। यद्यपि हिन्दु हुनुको अर्थ अन्य धर्मप्रति असम्मान गर्नु नभएको उल्लेख गर्दै उनले नेपालमा सबै नागरिकलाई धार्मिक स्वतन्त्रता हुनुपर्नेमा जोड दिए।
 

बुद्ध धर्मलाई विश्वले मानेको वैज्ञानिक धर्मका रूपमा सम्मान व्यक्त गर्दै देउवाले किरात राई समुदायको प्रकृति पूजा परम्पराप्रति पनि आफ्नो अगाध प्रेम रहेको बताए। आफू हिन्दु भए पनि सबै धर्मलाई माया गर्ने स्पष्ट पार्दै देउवाको यस सम्बोधनलाई कांग्रेसभित्रको पेचिलो राजनीति र शक्ति समीकरणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?