काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको तीव्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले वर्तमान सरकार पर्यटन क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति निरन्तर क्रियाशील रहेको बताए।
देशको पर्यटन क्षेत्रको स्तरोन्नतिका खातिर कायम रहेका नीतिगत तथा संरचनागत जटिलताहरू समाधान गर्न आफू गम्भीर भएर लागिपरेको बताउँदै उनले निजी क्षेत्रसँगको बलियो साझेदारीमार्फत नै राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिनेमा जोड दिए।
सोही अवसरमा मन्त्री पौडेलले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले शैक्षिक सत्र विस्तार गर्दै स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटन (वेल्नेस टुरिजम) सम्बन्धी पठनपाठनको व्यवस्था मिलाउन लागेको जानकारीसमेत दिए।
यसैबिच, फरक प्रसङ्गमा बोल्दै पर्यटनमन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापकीय सुधारका लागि निगमलाई सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गरिने स्पष्ट पारे।