साउन २९ देखि सुकेधारामा कांग्रेस संस्थापनइतरको तीनदिने भेला, पूर्वसभापति देउवाले उद्घाटन गर्ने

साउन २९ देखि सुकेधारामा कांग्रेस संस्थापनइतरको तीनदिने भेला, पूर्वसभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं। नेपाली कांग्रेसभित्रको संस्थापनइतर धारले पार्टीभित्र आफ्नो शक्ति प्रदर्शन तथा भावी राजनीतिक रणनीति तय गर्ने उद्देश्यका साथ तीनदिने राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आगामी साउन २९ देखि ३१ गतेसम्म सञ्चालन हुने सो भेलाको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ। आयोजकका अनुसार साउन २९ गते शुक्रबार दिउँसो १ बजे औपचारिक रूपमा उद्घाटन समारोह हुनेछ।

आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा हुने उक्त भेलाको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। त्यसपछिका दुई दिन भने बन्दसत्र सञ्चालन गरी साङ्गठनिक तथा राजनीतिक विषयहरूमा गहन छलफल अघि बढाउने तयारी गरिएको छ।

आयोजक समितिका प्रमुख मीन विश्वकर्माका अनुसार भेलामा देशभरबाट करिब ४ हजार ६ सय नेता तथा कार्यकर्ता सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, सहभागिता अझै बढेर ५ हजारभन्दा माथि पुग्न सक्ने आकलन उनको छ।

भेलामा पेस गरिने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य पनि तीव्र गतिमा भइरहेको छ। आयोजकका अनुसार तयार पारिएको प्रतिवेदन आजै साँझसम्म टुङ्ग्याएर सञ्चारमाध्यमहरूलाई उपलब्ध गराइनेछ।

तीन दिनसम्म चल्ने यस भेलालाई नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहको आगामी रणनीति, सङ्गठनात्मक स्थिति र नेतृत्वबीचको समन्वयबारे आधिकारिक धारणा सार्वजनिक गर्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?