फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग औंठी लगाएको र हात समातेको तस्वीर सार्वजनिक गर्दै विवाहको औपचारिक पुष्टि गरेका हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाका सन्तान समेत छन्। उनीहरूको विवाहलाई लिएर खेलकुद तथा मनोरञ्जन वृत्तमा लामो समयदेखि अनेकौँ चर्चा चल्दै आएको भए पनि रोनाल्डोले पहिलोपटक सामाजिक सञ्जालमार्फत विवाहको खबर सार्वजनिक गरेका हुन्।

विश्वकप यात्रा र खेल जीवनको अन्त्य

रोनाल्डोले हालै सम्पन्न सन् २०२६ को फिफा विश्वकपमा पोर्चुगलको प्रतिनिधित्व गरेका थिए, जुन उनको खेल जीवनको अन्तिम विश्वकप ठरियो। अन्तिम १६ को खेलमा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। खेलमा मिकेल मेरिनोले गरेको गोल नै स्पेनका लागि निर्णायक बनेको थियो।

स्पेनसँगको उक्त खेलअघि नै रोनाल्डोले सन् २०२६ को संस्करण नै आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका थिए। यससँगै सन् २००६ बाट सुरु भएको उनको २० वर्ष लामो विश्वकप यात्राको अन्त्य भएको छ।

उनले सन् २००६ को पहिलो सहभागितामा टोलीलाई चौथो स्थान दिलाउन योगदान दिएका थिए। त्यसपछि सन् २०१० र २०१८ मा अन्तिम १६, २०१४ मा समूह चरण र २०२२ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए।

विश्वकपको इतिहासमा रोनाल्डोले कुल २७ खेल खेल्दै दोस्रो सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्। विश्वकपमा ११ गोल गरेका उनले सन् २०२६ को संस्करणका पाँच खेलमा तीन गोल गरेका थिए।

विश्वकप उपाधि उचाल्न नसके पनि क्लब फुटबलमा ऐतिहासिक सफलता हासिल गरेका रोनाल्डोको जीवनमा अन्तिम विश्वकपपछि नयाँ अध्याय सुरु भएको छ।

छुटाउनुभयो कि ?