अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य  बढ्यो

चितवन। बजारमा माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको हो।

संघले तय गरेको नयाँ मूल्यअनुसार एक्सएलअण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो अण्डा प्रतिपेटी (सात क्रेट) तीन हजार रुपैयाँ कायम गरिएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आए पनि यसअघि धेरै कुखुरा मरेका कारण उत्पादनमा कमी आएको छ। एकातिर उत्पादन घट्नु र अर्कोतिर बजारमा माग बढ्नुले अण्डाको मूल्य वृद्धि भएको हो। फार्महरूबाट प्राप्त दररेटका आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले जानकारी दिए।

मूल्य वृद्धि भए पनि किसानले अझै लागत मूल्य पाउन नसकेको अध्यक्ष पोखरेलले बताए। हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ, जसअनुसार प्रतिक्रेट लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा हुन आउँछ।

बर्डफ्लु र उचित मूल्यको अभावका कारण किसानहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ।

लागत अनुसारको प्रतिफल नपाउँदा विगत केही वर्षदेखि धेरै किसान यस व्यवसायबाट पलायन भइरहेका छन्। उत्पादनमा गिरावट र रोगको प्रकोपका कारण बाँकी रहेका किसानहरू पनि बैंकको ऋणको भरमा व्यवसाय चलाउन बाध्य भएको व्यवसायीहरूको भनाइ छ।

छुटाउनुभयो कि ?