सङ्खुवासभा। सङ्खुवासभामा नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ। खाँदबारी वितरण केन्द्रले बितेको एक वर्षको अवधिमा ७७१ जना ग्राहकबाट एक करोड २० लाख सात हजार रुपैयाँ बक्यौता असुल गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा झन्डै दोब्बर हो। अघिल्लो वर्ष प्राधिकरणले ६६ लाख ७४ हजार रुपैयाँ मात्र बक्यौता उठाएको थियो।
प्राधिकरणका अनुसार विद्युत् महसुल नतिर्नेहरूमा हाइड्रोपावर कम्पनी, क्रसर उद्योग, अन्य साना-ठूला उद्योगधन्दा तथा सरकारी कार्यालयहरू रहेका छन्। खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार असुल गरिएको कुल रकममध्ये सरकारी कार्यालयहरूबाट मात्रै चार लाख रुपैयाँभन्दा बढी बक्यौता उठाइएको छ। प्राधिकरणले विशेष गरी सदरमुकाम खाँदबारी आसपासका क्षेत्र, चैनपुर बजार तथा जिल्लाका विभिन्न भागमा रहेका उद्योगहरूलाई लक्षित गरी बक्यौता असुली अघि बढाएको हो।
हाल सङ्खुवासभा जिल्लाभर कुल ३१ हजार ५९० ग्राहक रहेका छन्। पछिल्लो समय सङ्कलित यो रकममा पुरानो महसुल बक्यौताका साथै विद्युत् चोरी बापतको जरिवाना, काटिएका लाइन पुनः जडान गर्दा लाग्ने शुल्क र नयाँ ग्राहकबाट प्राप्त रकमसमेत समावेश छ। विद्युत् चोरी नियन्त्रणका लागि एकातिर कडा अनुगमन र कारबाही प्रक्रिया अघि बढाइएको छ भने अर्कोतिर विद्युत् चुहावट रोक्न उपभोक्ता माझ सचेतना अभियानसमेत सञ्चालन भइरहेको वितरण केन्द्रले जनाएको छ।
जिल्लामा हाल उत्पादन भइरहेको कुल ४६ मेगावाट विद्युत्मध्ये स्थानीय स्तरमा जम्मा ६ मेगावाट मात्र खपत हुने गरेको छ। भौगोलिक रूपमा ८० प्रतिशत भूभागमा विद्युत् पहुँच पुगिसकेको सङ्खुवासभामा सेवालाई थप भरपर्दो र गुणस्तरीय बनाउन गत वर्षदेखि नै तुम्लिङटार र बानेश्वरमा २२० केभी क्षमताका सबस्टेशनहरू सञ्चालनमा ल्याइसकिएको छ।
यद्यपि, दुर्गम क्षेत्र मानिने सिलिचोङ, मकालु, भोटखोला र सभापोखरी गाउँपालिकाका केही वडाहरूमा अझै विद्युत् सेवा विस्तार हुन बाँकी रहेकाले ती क्षेत्रमा पनि शीघ्र लाइन पुर्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।