काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागका प्राविधिकहरूले उपहार छनोट विधि र प्रणालीबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नमुना प्रदर्शनसहित जानकारी गराएका हुन्।
विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार पहिलो चरणको उपहार कार्यक्रम शुक्रबार घोषणा गरिनेछ। यसअन्तर्गत साउन १ देखि १५ गतेसम्म डिजिटल वा नगद माध्यमबाट वस्तु तथा सेवा खरिद गरी नियमानुसार बिल प्राप्त गरेका उपभोक्ताहरू सहभागी हुन पाउनेछन्।
उपहार कार्यक्रमअन्तर्गत साउन १ देखि १५ गतेसम्मको दैनिक कारोबारका आधारमा १५ जनाले करकट्टीसहित प्रतिव्यक्ति रु. १ लाख नगद उपहार प्राप्त गर्नेछन्। सोही अवधिमा खरिद गर्ने सम्पूर्ण उपभोक्ताहरूमध्येबाट एक जना भाग्यशाली विजेतालाई रु. १० लाखको बम्पर उपहार प्रदान गरिनेछ (बम्पर उपहार रकममा भने नियमानुसार कर लाग्नेछ)।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर सहभागिता र बिल लिने बानीलाई प्रोत्साहन गर्न यो उपहार कार्यक्रमको घोषणा गरेका थिए।
कार्यविधि अनुसार अबदेखि प्रत्येक महिनाको १६ गते (अघिल्लो १ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि मसान्तसम्मको कारोबारका लागि) गोलाप्रथाद्वारा उपहार घोषणा गरिनेछ।
बैंक वा वालेटको क्युआर मार्फत भुक्तानी गर्ने उपभोक्ताहरू यस कार्यक्रममा स्वतः सहभागी हुनेछन्, तर दाबीका लागि खरिद बिल सुरक्षित राख्नुपर्नेछ। नगदमा कारोबार गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी उपहार कुपन लिनुपर्ने व्यवस्था गरिएको छ।