काठमाडौं। गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न भएको ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज गरी सञ्चालनमा ल्याइएको छ।
'राइट अफ वे' र स्थानीय अवरोधका कारण लामो समयदेखि रोकिएको यो सबस्टेसन सञ्चालनसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप गुणस्तरीय, भरपर्दो र प्रभावकारी हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत एसियाली विकास बैंक ) र नेपाल सरकारको संयुक्त लगानीमा यो सबस्टेसन निर्माण गरिएको हो।
सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका करिब १५ हजार बासिन्दाले अब नियमित र गुणस्तरीय विद्युत् सेवा पाउनेछन्। यसअघि गोरखा बजार सबस्टेसनबाट लामो दूरीमार्फत विद्युत् आपूर्ति गर्दा सो क्षेत्रमा बारम्बार लाइन काटिने र कम भोल्टेजको समस्या रहने गरेको थियो।
घ्याम्पेसाल सबस्टेसनले गोरखा बजार सबस्टेसनको भार घटाउनुका साथै निर्माणाधीन बारपाक दरौंदी जलविद्युत् आयोजनाबाट उत्पादित १० मेगावाट विद्युत्लाई समेत राष्ट्रिय प्रणालीमा जोड्न सहज बनाउनेछ।
नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सबस्टेसनको सञ्चालनले स्थानीयवासीको वर्षौँदेखिको अपेक्षा पूरा गरेको बताएका छन्।
विद्युत् सेवामा आएको यो सुधारले उत्तरी गोरखामा विद्युत्को समस्या समाधान गर्नुका साथै यस क्षेत्रको कृषि, उद्योग र पर्यटनसम्बन्धी गतिविधि विस्तारमा समेत ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।