कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइलमै

कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइलमै

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा हुने कृषि उपजको दैनिक थोक मूल्य मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ।

विभागले मङ्गलबार एक सूचना जारी गर्दै ‘एएमपिआइएस नेपाल’ (AMPIS Nepal) नामक मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएको हो। एपमार्फत किसान, व्यापारी तथा सरोकारवालाले कृषि उपजको दैनिक थोक मूल्य, मूल्यको प्रवृत्ति (ट्रेन्ड) तथा बजारसम्बन्धी विभिन्न विवरण सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गत कृषि उपजको बजार सुनिश्चित गर्न 'राष्ट्रिय कृषि बजार सूचना प्रणाली' सञ्चालन गर्ने र डिजिटल माध्यमबाट दैनिक मूल्यसम्बन्धी जानकारी कृषकसम्म पुर्‍याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

विभागका अनुसार सरकारीस्तरबाट सञ्चालित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीका कृषि बजारमा कारोबार हुने उपजहरूको दैनिक थोक मूल्य एपमा हेर्न सकिनेछ।

हाल यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ। साथै, कृषि विभागको आधिकारिक वेबसाइटमा रहेको ‘क्यूआर कोड’ स्क्यान गरेर पनि एप डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।

एपमार्फत प्रयोगकर्ताले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्यका साथै विभिन्न बजारहरूबीचको मूल्य तुलना, मूल्यको उतारचढाव र कृषि-मौसमसम्बन्धी बुलेटिनसमेत हेर्न सक्नेछन्। यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्यबारे समयमै जानकारी पाउने र बजार व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ।

डिजिटल सूचना प्रणालीले बजार मूल्यमा पारदर्शिता बढाउने, किसानलाई उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न सहज बनाउने र सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाईंका अनुसार कृषि बजार मूल्यसम्बन्धी थप विवरण आवश्यक परेमा विभागको वेबसाइट वा ‘एएमपिआइएस नेपाल’ मोबाइल एप प्रयोग गर्न सकिनेछ।

छुटाउनुभयो कि ?