अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन, आँसुसहित मेसीको बिदाइ

अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन, आँसुसहित मेसीको बिदाइ

काठमाडौँ। फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १-० गोलले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले मैदानमै आफ्ना आँसु रोक्न सकेनन्।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा अतिरिक्त समयको १०६औँ मिनेटमा फेररान टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक विश्व विजेता बनाएका थिए। ९०औँ मिनेटमा एन्जो फर्नान्डेज रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको अर्जेन्टिनाका लागि यो हार झनै पीडादायी बन्यो।

आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका कप्तान मेसीका लागि यो फाइनल सुखद रहन सकेन। सम्पूर्ण प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएका मेसीलाई स्पेनको बलियो रक्षापंक्तिले पूर्ण रूपमा रोकेर राख्यो। खेलको अन्तिम क्षणसम्म अर्जेन्टिनाका तर्फबाट बनेका अधिकांश मुभहरू मेसीकै वरिपरि घुमेका भए पनि स्पेनको सशक्त डिफेन्स तोड्न उनी असफल रहे।

"नतिजाबाट दुःखी भए पनि हाम्रा खेलाडीहरूले मैदानमा आफ्नो सर्वस्व सुम्पिएका छन्। जितमा मात्र नभई हारमा पनि महानता देखाउनुपर्छ।"

लियोनल स्कालोनी, मुख्य प्रशिक्षक (अर्जेन्टिना)

स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले टोलीको प्रदर्शनमा गर्व गर्दै हारलाई सहज रूपमा स्वीकार्नुपर्ने बताएका छन्। खेलपछिको पत्रकार सम्मेलनमा भावुक रूपमा प्रस्तुत भएका स्कालोनीले नतिजाबाट दुःखी भए पनि खेलाडीहरूले मैदानमा आफ्नो सर्वस्व सुम्पिएको बताए।

उनले टोली स्तब्ध भए पनि यहाँसम्म आइपुग्न खेलाडीहरूले गरेको मिहिनेत अतुलनीय रहेको उल्लेख गरे। स्पेन आजको खेलमा आफूहरूभन्दा उत्कृष्ट रहेको स्वीकार्दै स्कालोनीले टोलीले देशका लागि मैदानमा रगत-पसिना बगाएको दाबी गरे।

फुटबल समीक्षकहरूका अनुसार फाइनल भिडन्तमा स्पेन पूर्ण रूपमा हाबी भएको थियो। खेलको सुरुवाती मिनेटदेखि नै बलमाथि नियन्त्रण राख्दै आक्रामक फुटबल पस्केको स्पेनले लगातार गोलका अवसर सिर्जना गरेको थियो। स्पेनले देखाएको अनुशासित र उत्कृष्ट प्रदर्शनका कारण टोली १६ वर्षपछि दोस्रो पटक विश्वकप उपाधिको हकदार बनेको विश्लेषण गरिएको छ।

छुटाउनुभयो कि ?