सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकको लामो प्रयासपछि सकुशल उद्धार गरिएको छ।
गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहानै सुरक्षाकर्मी र परिवारको समन्वयमा सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका हुन्। हुसैन सम्भवतः शनिबार रातिको समयमै टावरमा चढेको प्रहरीको आशंका छ।
आइतबार बिहान करिब ४ बजे उनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमा रहेको जानकारी दिएपछि मात्र यो घटना बाहिर आएको थियो। सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत हुसैनले किन यस्ताे कदम चाले भन्ने विषयमा केही खुलेकाे छैन।
घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको थियो। ८० मिटरको उचाइमा रहेका उनलाई सम्झाइ-बुझाइ गर्न सुरक्षाकर्मीले उनका बुवा र दाजुलाई तुरुन्तै घटनास्थलमा बोलाएका थिए।
परिवारका सदस्यहरूसँग टेलिफोनमार्फत संवाद गराई उचित परामर्श दिएपछि अन्ततः हुसैन आफैँ टावरबाट तल ओर्लिन सहमत भएका हुन्। सुरक्षा निकाय र परिवारको संयुक्त प्रयासले सम्भावित ठूलो दुर्घटना टरेको छ।