काठमाडाैं। फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनल यात्रा तय गरे पनि अर्जेन्टिनाको टोली र मिडफिल्डर जियोभानी लो सेल्सो फिफाको कारबाहीमा पर्न सक्ने सम्भावना बढेको छ।
अमेरिकाको एटलान्टामा सम्पन्न रोमान्चक खेलमा इंग्ल्यान्डलाई पराजित गरेपछि लो सेल्सोले मैदानमा राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेपछि यो विवाद सतहमा आएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'द एथलेटिक' का अनुसार उनले डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर ‘माल्भिनास अर्थात् फकल्याण्ड अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर केहीबेर प्रदर्शन गरेका थिए।
दक्षिण–पश्चिम एटलान्टिक महासागरमा अवस्थित फकल्याण्ड टापुलाई अर्जेन्टिनामा 'माल्भिनास' भनिन्छ, जुन हाल बेलायतको अधिनमा रहेको विदेशी भूभाग हो। यस टापुको सार्वभौमिकतालाई लिएर अर्जेन्टिना र बेलायतबीच लामो समयदेखि गम्भीर राजनीतिक विवाद रहँदै आएको छ। सन् १९८२ मा यही टापुको नियन्त्रणका लागि दुई देशबीच दुई महिना लामो भीषण युद्ध समेत भएको थियो, जसमा सयौँ सैनिकको ज्यान गएको थियो र अन्ततः बेलायत विजयी भएको थियो।
खेल मैदानमा यस्ता राजनीतिक मुद्दा उठाउनु फिफाको नियम विपरित मानिन्छ। अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (IFAB) र फिफाको स्पष्ट आचारसंहिता अनुसार खेलका क्रममा वा खेलसँग सम्बन्धित कुनै पनि गतिविधिमा राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश, नारा र प्रतीकहरू प्रदर्शन गर्न पाइँदैन। यो नियम उल्लङ्घन गरेको पाइएमा फिफा वा प्रतियोगिता आयोजकले सम्बन्धित खेलाडी, टोली वा राष्ट्रिय फुटबल संघलाई कडा कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ।
यसैबीच, यो विषयले राजनीतिक रूप समेत लिएको छ। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत लो सेल्सोको कदमको खुल्ला समर्थन गरेकी छन्। उनले रंगशालामा ब्यानर लैजान रोक लगाइए पनि फकल्याण्ड अर्जेन्टिनी नागरिकको रगत र हृदयमा रहेको भन्दै राष्ट्रियताको बचाउ गरेकी छन्।
यसअघि मैदानमा भएको प्रतिस्पर्धामा भने अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पारेको थियो। खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता लिए पनि ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले बराबरी गोल फर्काएका थिए।
खेलको अतिरिक्त (इन्जुरी) समयमा कप्तान लियोनेल मेसीको पासलाई सदुपयोग गर्दै लाउटारो मार्टिनेजले उत्कृष्ट हेड गोल गरेर अर्जेन्टिनालाई फाइनलमा पुर्याएका हुन्। अब विश्वकप उपाधिका लागि अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ भने तेस्रो स्थानका लागि इंग्ल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।