माइतीघरमा किसानको आन्दोलनपछि कृषि मन्त्री चौधरीको सक्रियता: कालीमाटीबाट उपत्यका बाहिर टमाटर ढुवानी सुरु

माइतीघरमा किसानको आन्दोलनपछि कृषि मन्त्री चौधरीको सक्रियता: कालीमाटीबाट उपत्यका बाहिर टमाटर ढुवानी सुरु

काठमाडौँ । उत्पादित टमाटरको उचित मूल्य नपाएको भन्दै बुधबार बिहान काठमाडौँको माइतीघर मण्डलमा किसानहरूले सडकमा टमाटर फालेर विरोध प्रदर्शन गरे।

उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा किसानको हित संरक्षण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयमा छलफल गरेकी छिन्।

छलफलका क्रममा किसानहरूले टमाटरको उचित मूल्य, सहज बजार पहुँच तथा बिचौलियाको प्रभाव न्यूनीकरणका लागि सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको धारणा राखेका थिए। मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै तत्काल बजार व्यवस्थापन र आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन्।

मन्त्रालयको पहल तथा कालीमाटी फलफूल तथा तरकारी बजारको समन्वयमा बुधबारदेखि नै कालीमाटीबाट टमाटर उपत्यका बाहिर ढुवानी गर्न सुरु गरिएको छ। काठमाडौँ उपत्यका बाहिर माग भएका बजारहरूमा टमाटर आपूर्ति गरी किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले ढुवानी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानको उत्पादनले उचित बजार र मूल्य पाउने व्यवस्था गर्न आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?