आजदेखि देशभर १४.२ केजीको पूर्ण तौल भएको ग्यास सिलिन्डर बिक्री सुरु

आजदेखि देशभर १४.२ केजीको पूर्ण तौल भएको ग्यास सिलिन्डर बिक्री सुरु

काठमाडौं । बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले आज बुधबारदेखि देशभर पूर्ण तौल अर्थात् भरी सिलिन्डर ग्यासको बिक्री वितरण सुरु गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो। नेपाल आयल निगमले मंगलबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ।

विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन्। निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङको अवस्थामा उल्लेख्य सुधार आएको छ।

यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिन्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिन्डरको सट्टा पूर्ण तौलकै सिलिन्डर बजारमा पठाउने निर्णय गरेको हो। यो निर्णय आज बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ।

निगमले भरी सिलिन्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ। अब उपभोक्ताले प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा भरी ग्यास सिलिन्डर खरिद गर्न सक्नेछन्। उद्योगमन्त्री यादवको सक्रियता र निर्देशनपछि चालिएको यो कदमले बजारमा माग बढ्ने समयमा उपभोक्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। निगमले बजारमा ग्यासको अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई समेत तीव्र बनाउने संकेत दिएको छ।

छुटाउनुभयो कि ?