काठमाडौं। फिफा विश्वकप २०२६ अब आफ्नो अन्तिम तथा निकै रोमान्चक मोडमा आइपुगेको छ। प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका सबै खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने चारै वटा शक्तिशाली टोलीहरूको टुङ्गो लागेको हो।
यसपटकको विश्वकपमा एउटा रोचक संयोग के परेको छ भने फिफा वरीयतामा माथिल्लो स्थानमा रहेका चार वटै दाबेदार टोलीहरू फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले मात्र सेमिफाइनलको यात्रा तय गर्न सफल भएका छन्।
फिफा वरीयताको पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले स्तब्ध पार्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। यसैगरी अर्को रोमाञ्चक खेलमा स्पेनले बेल्जियममाथि २–१ को कठिन जित दर्ता गर्यो भने इङ्ल्यान्डले पनि नर्वेलाई २–१ गोलले नै पराजित गर्दै सेमिफाइनलको टिकट पक्का गर्यो।
क्वाटरफाइनलको अन्तिम खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डमाथि ३–१ को सानदार जित निकाल्दै सेमिफाइनलमा पुग्ने चौथो टोलीको रूपमा आफ्नो नाम दर्ता गराएको छ। वरीयताका शीर्ष टोलीहरू मात्रै अन्तिम चारमा पुगेका कारण अबका सेमिफाइनल भिडन्तहरू निकै कडा र हेर्नलायक हुने निश्चित छ।