काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
हिजो बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा एक सय ६० रुपैयाँले घटेको हो। हालैका दिनहरूमा लगातार बढेर नयाँ उचाइतर्फ उन्मुख भएको सुनचाँदीको मूल्यमा आज आएको यो गिरावटले बजारमा केही ठुलो उतारचढाव देखाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ।
हिजो बुधबार छापावाल सुन ऐतिहासिक उचाइतर्फ लाग्दै प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो। आजको गिरावटसँगै सुन खरिद गर्न चाहने उपभोक्ताहरूलाई केही राहत मिलेको छ।
त्यसैगरी, आज बहुमूल्य सेतो धातु चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय चालिस रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँको उच्च विन्दुमा पुगेर कारोबार भएको थियो।
विश्व बजारमा अमेरिकी डलरको चाप र लगानीकर्ताहरूको रणनीतिमा आएको हेरफेरका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सुनको मूल्यमा केही संकुचन आएको उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय बजारको सोही उतारचढावकै प्रभावस्वरूप नेपाली बजारमा पनि मूल्य घट्न पुगेको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन चार हजार पचहत्तर अमेरिकी डलर र प्रतिऔँस चाँदी ५७ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।