काठमाडाैं। देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने यसको जोखिम अझै कायम रहेको छ ।
पशु सेवा विभागका अनुसार हालसम्म मुलुकका ११ जिल्लामा देखिएको संक्रमणमध्ये आठ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने बाँकी तीन जिल्लामा नियन्त्रणका लागि निगरानी र व्यवस्थापनको काम जारी राखिएको छ ।
विशेषगरी जनघनत्व बढी भएका क्षेत्र तथा कुखुरा पालन व्यवसायको व्यापक विस्तार भएका स्थानमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको हो । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा कुखुरा फार्मको संख्या धेरै हुनु र बजारको चाप उच्च रहनुले संक्रमण नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ ।
कुखुरा तथा अन्य पन्छीमा लाग्ने यो संक्रामक रोग संक्रमित पन्छीबाट अन्य पन्छीमा सजिलै फैलिन सक्ने भएकाले समयमै पहिचान, वैज्ञानिक व्यवस्थापन र जैविक सुरक्षा उपाय अपनाउनु नै नियन्त्रणको मुख्य आधार मानिन्छ ।
विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, र चितवनलगायतका जिल्लामा देखिएको संक्रमण अहिले नियन्त्रणमा आइसके पनि काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमणको अवस्था अझै निगरानीमा छ ।
हाल संक्रमित क्षेत्रको स्थलगत अनुगमन गरी संघीय तथा स्थानीय सरकारको समन्वयमा आवश्यक नियन्त्रणका काम अघि बढाइएको छ । विभागको तथ्याङ्कअनुसार संक्रमण नियन्त्रण गर्ने क्रममा हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा र दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिसकिएको छ ।
सरकारले संक्रमित क्षेत्र पहिचान गरी कुखुरा तथा अण्डाको ओसारपसारमा निगरानी बढाउनुका साथै व्यवसायीहरूलाई फार्ममा जैविक सुरक्षा अपनाउन, बाहिरी व्यक्तिको आवतजावत नियन्त्रण गर्न र नियमित सरसफाइ गर्न आग्रह गरेको छ ।
फार्ममा कुनै पनि अस्वस्थ पन्छी देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन समेत सचेत गराइएको छ । विज्ञहरूका अनुसार वर्डफ्लु नियन्त्रणका लागि त्रासभन्दा सचेतना आवश्यक रहेको छ र उपभोक्ताको सावधानीले यसको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
यसैबीच स्वास्थ्य विज्ञहरूले राम्रोसँग पकाएर खाएको कुखुराको मासु र अण्डाबाट सामान्य अवस्थामा संक्रमणको जोखिम अत्यन्त न्यून हुने स्पष्ट पार्दै नागरिकलाई अनावश्यक त्रसित नभई सजगता अपनाउन आग्रह गरेका छन् ।