काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेलगत्तै काठमाडौँ उपत्यकासहित देशभरका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको चरम अभाव देखिएको छ। मूल्य घट्ने पूर्वअनुमानका कारण व्यवसायीहरूले डिपोबाट तेल नउठाउँदा र मूल्य घटेपछि स्टक लुकाउँदा उपभोक्ताहरू चर्को मर्कामा परेका हुन्।
बजारमा मूल्य घट्ने हल्ला चल्नासाथ नोक्सानी बेहोर्नुपर्ने डरले पम्प सञ्चालकहरूले केही दिनदेखि इन्धन खरिद गर्न छाडेका थिए। जसका कारण काठमाडौँलगायत देशका विभिन्न भागमा रहेका अधिकांश निजी पेट्रोल पम्पहरूले 'पेट्रोल छैन' भन्ने सूचना टाँसेर बिक्री वितरण ठप्प पारेका छन्। निजी पम्पहरू अचानक बन्द भएपछि इन्धन भर्न पुगेका सवारी चालकहरू नेपाली सेना, नेपाल प्रहरी र साझाजस्ता सरकारी पम्पहरूमा घण्टौँसम्म लाइन बस्न बाध्य भएका छन्।
निगमले मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले उपभोक्तालाई राहत दिन निगमले ठूलो मात्रामा मूल्य कटौती गरे पनि व्यवसायीको असहयोग र स्वार्थका कारण बजारमा कृत्रिम अभाव सिर्जना भएको छ।
यसरी उपभोक्तालाई सास्ती दिने गरी इन्धन लुकाउने वा पम्प बन्द गर्ने व्यवसायीहरूमाथि निगमले कडा कारबाही गर्ने चेतावनी दिएको छ। इन्धनको हाहाकार र सम्भावित कालोबजारीको गुनासो बढेपछि निगमले तत्कालै कदम चालेको छ।
बजारमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन निगमले काठमाडौँ उपत्यकामा मात्रै तीनवटा विशेष टोली परिचालन गरी आकस्मिक अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा नियतवश पम्प बन्द गरेको वा तेल लुकाएको पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीअनुसार इजाजतपत्र खारेज गर्नेसम्मको कडा कारबाही गरिने निगमले स्पष्ट पारेको छ।