पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती: पेट्रोलमा २०, डिजेलमा ३० र ग्यासमा १०० रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती: पेट्रोलमा २०, डिजेलमा ३० र ग्यासमा १०० रुपैयाँ घट्यो

काठमाडौं।  नेपाल आयल निगमले उपभोक्तालाई ठूलो राहत दिँदै पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।

नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको छ। यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले कटौती गरिएको छ। सर्वसाधारणले बढी प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासको मूल्यमा समेत प्रतिसिलिन्डर १०० रुपैयाँ घटाउने निर्णय निगमले गरेको छ।

नयाँ मूल्यसूची अनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल प्रतिलिटर २२५ रुपैयाँ रहेको थियो।

यसैगरी, पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९४.५० रुपैयाँ र डिजेल प्रतिलिटर १९२.५० रुपैयाँ कायम गरिएको छ। दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १९६ रुपैयाँ र डिजेलको मूल्य १९४ रुपैयाँ तोकिएको छ।

मूल्य कटौतीपछि हवाई इन्धन (आन्तरिक) को नयाँ बजारभाउ प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर काठमाडौँका लागि १,५६६ अमेरिकी डलर, पोखराका लागि १,१०० डलर र भैरहवाका लागि १,०८५ डलर तय गरिएको छ।

यसैगरी, यसअघि प्रतिसिलिन्डर २,१६० रुपैयाँ पर्ने खाना पकाउने एलपी ग्यास (१४.२ किलोग्राम) अब उपभोक्ताले प्रतिसिलिन्डर २,०६० रुपैयाँमा प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणाली अन्तर्गत यो मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

छुटाउनुभयो कि ?