काठमाडौं। प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समयमा किसानहरू खेतका गरामा ब्यस्त रहँदै शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन्। असारे गर्मी र कामको चटारोले थकित शरीरलाई दही चिउराले शीतलता प्रदान गर्नुका साथै ऊर्जा सञ्चय हुने जनविश्वास छ।
खेतीपातीमा संलग्न किसान मात्र नभई अन्य पेसा र व्यवसायमा रहेका नेपालीहरूले पनि आजको दिनलाई दही चिउरा खाने पर्वका रूपमा उत्साहका साथ मनाउने गर्दछन्। नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ, शुभकार्यमा निस्कनुअघि, विदेश वा यात्रामा जाँदा दही-अक्षताको टीका लगाउने र सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्परा रहिआएको छ।
दहीको सांस्कृतिक तथा आयुर्वेदिक महत्त्व
दही वैज्ञानिक र आयुर्वेदिक दुवै दृष्टिले स्वास्थ्यवर्द्धक मानिन्छ। इतिहास र पौराणिक किंवदन्ती अनुसार गुरु गोरखनाथले नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने आशीर्वाद दिनुभएको उल्लेख पाइन्छ।
आयुर्वेदमा भनिएको छ- “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्”, अर्थात् भोजनको अन्त्यमा नियमित मोही वा दहीको सेवन गरेमा स्वास्थ्योपचारका लागि चिकित्सककहाँ धाइरहनु पर्दैन।
दहीले पाचन शक्ति बलियो बनाउनुका साथै पखाला लागेका बेला दही चिउरा खाएमा यसले औषधिको काम गर्ने स्वास्थ्यविद्हरू बताउँछन्। यसै बृहद् सांस्कृतिक एवं स्वास्थ्यसम्बन्धी विशेषताका कारण असार १५ नेपाली समाजमा एक राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ।
धान दिवसको पृष्ठभूमि र मौलिकता
नेपाल सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि औपचारिक रूपमा राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो। कृषिप्रधान देश नेपालमा वर्षभरिका लागि अन्न जुटाउन किसानहरू यो महिना निकै व्यस्त हुन्छन्।
आजको दिन खेतका गराहरूमा असारे भाकामा लोकदोहोरी गाउँदै, छुपुछुपु हिलोमा धान रोप्ने गरिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता परम्परागत लोकलयका गीतहरूले कार्यक्षेत्रको थकाइ भुलाइदिन्छन्।
मध्य गर्मीको यो समयमा युवा लाठे र रोपाहारहरूले खेतको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्दछन्। नेपाली समाजमा वर्षमा एकपटक असारको हिलोमा टेक्नैपर्ने धार्मिक तथा स्वास्थ्यसम्बन्धी मान्यता समेत रहिआएको छ।
यस वर्षको अवस्था: मनसुनको ढिलाइ र मलको उपलब्धता
यस वर्ष असारको मध्य भइसक्दा पनि देशका धेरैजसो भूभागमा पर्याप्त मात्रामा मनसुनी वर्षा नभएका कारण अपेक्षित रूपमा रोपाइँ हुन सकेको छैन।
आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेका क्षेत्रका किसानहरू असार १५ बित्न लाग्दा पनि खेत बाँझै राख्नुपर्दा चिन्तित देखिन्छन्। कृषि मन्त्रालयका अनुसार यो समयसम्म देशभर करिब २५ देखि ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको अनुमान छ।
अर्कोतर्फ, कतिपय दुर्गम तथा ग्रामीण भेगका किसानहरूले समयमा रासायनिक मल नपाएको गुनासो गरिरहेका छन्।
यद्यपि, कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने यस वर्ष विगतको जस्तो चरम अभाव नरहेको र सरकारी गोदामहरूमा पर्याप्त मात्रामा रासायनिक मल (युरिया, डिएपी) को मौज्दात रहेकाले वितरण प्रणालीलाई थप सुदृढ बनाइँदै लगिएको दाबी गरेको छ। नेपालमा धान प्रमुख खाद्यबाली भएकाले समयमै रोपाइँ सकिएमा मात्र राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने देखिन्छ।