काठमाडौँ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य रूपमा भएको छ। साउनदेखि जेठ मसान्तसम्मको यस अवधिमा कुल २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
विभागका अनुसार, चालु आर्थिक वर्षको उक्त अवधिमा ५० किलोवाटदेखि २०१ किलोवाटसम्मका विभिन्न क्षमता र ढाँचाका विद्युतीय सवारीसाधनहरू आयात गरिएका हुन्।
यसरी आयात भएका सवारीसाधनमध्ये ५१ देखि १०० किलोवाट क्षमताका गाडीहरूको सङ्ख्या सबैभन्दा धेरै रहेको छ। तथ्याङ्क अनुसार सो क्षमताका कुल १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। त्यसैगरी, सोही ११ महिनाको अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका ३ हजार ६८० वटा साना विद्युतीय गाडीहरू आयात भएको भन्सार विभागले जनाएको छ। पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई यस तथ्याङ्कले स्पष्ट पारेको छ।