जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

काठमाडौँ । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका स्ट्राइकर डेनिस उन्डाभले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह 'इ' अन्तर्गत क्यानडाको टोरन्टोमा आइतबार बिहान सम्पन्न निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा जर्मनीले बलियो अफ्रिकी टोली आइभरी कोस्ट विरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्‍यो । खेल बराबरीतर्फ धकेलिइरहेका बेला उन्डाभले इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरेका हुन् ।

विश्वकपमा लगातार दोस्रो जित निकालेसँगै चार पटकको विश्वविजेता जर्मनी एक खेल अगावै अन्तिम १६ (नकआउट चरण) मा पुग्न सफल भएको छ । जर्मनीले दुई खेलबाट स्पष्ट ६ अंक जोड्दै समूह 'इ' को शीर्ष स्थानमा आफ्नो स्थिति मजबुत बनाएको छ ।

पहिलो खेलमा कुरासाओमाथि ७-१ को विशाल जित निकालेको जर्मनीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । पराजित आइभरी कोस्ट भने पहिलो खेलमा जित निकाले पनि यो हारसँगै ३ अंकका साथ समूहको दोस्रो स्थानमा खुम्चिन पुगेको छ ।

खेलको सुरुवाती अवस्थामा जर्मनीले आक्रामक सुरुवात गरे पनि पहिलो हाफमा फिनिसिङमा चुकेको थियो । पहिलो हाफमै जर्मनीले बललाई दुई पटक जाली चुमाए पनि ती गोलहरूले मान्यता पाउन सकेनन्, जसका कारण टोलीले सुरुआती अग्रता लिने सुन्दर अवसर गुमायो ।

यसैबीच, खेलको ३०औँ मिनेटमा आइभरी कोस्टका कप्तान फ्रान्क कसीले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफमा १-० को अप्रत्याशित अग्रता दिलाएका थिए । बलियो रक्षापंक्ति र काउन्टर अट्याकको रणनीति बुनेको आइभरी कोस्टले दोस्रो हाफको मध्यसम्म जर्मनीलाई दबाबमा राखेको थियो ।

खेलमा परिवर्तन ल्याउन जर्मनीका प्रशिक्षकले ६०औँ मिनेटमा युवा स्टार जमाल मुसिएलाको स्थानमा डेनिस उन्डाभलाई मैदान पठाए । प्रशिक्षकको यो निर्णय जर्मनीका लागि निकै फलदायी सावित भयो ।

मैदान छिरेको आठ मिनेटमै, अर्थात् ६८औँ मिनेटमा नादिएम अमिरीको चलाखीपूर्ण पास (असिस्ट) मा उन्डाभले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । जारी विश्वकपमा 'सुपर सब' (वैकल्पिक खेलाडीका रूपमा आएर चम्किने) को भूमिकामा देखिएका उन्डाभको यो प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले कुरासाओ विरुद्धको खेलमा पनि वैकल्पिक खेलाडीकै रूपमा मैदान छिरेर एक गोल गरेका थिए ।

खेलको निर्धारित ९० मिनेट सकिएर इन्जुरी समयको चौथो मिनेट (९०+४) मा फेलिक्स एनमेचाको सटिक पासलाई सदुपयोग गर्दै उन्डाभले व्यक्तिगत दोस्रो गोल गरेपछि टोरन्टो रंगशालामा उपस्थित हजारौँ जर्मन समर्थकहरू खुसीले झुमेका थिए ।

तथ्याङ्कका हिसाबले पनि खेलभरि जर्मनीकै वर्चस्व रहेको थियो । ५९ प्रतिशत बल पोसेसन राखेको जर्मनीले आइभरी कोस्टको पोस्टमा कूल १६ पटक सट प्रहार गरेकोमा ७ वटा प्रहार अन-टार्गेट थिए । अर्कोतर्फ, आइभरी कोस्टले खेलभरि मात्र २ वटा सट टार्गेटमा प्रहार गर्न सक्यो ।

यो जितसँगै दबाबमुक्त बनेको जर्मनीले अब समूहको अन्तिम खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरको सामना गर्नेछ भने नकआउटको दौडमा जीवितै रहेको आइभरी कोस्टले आफ्नो अन्तिम खेलमा कुरासाओ विरुद्ध खेल्नेछ ।

यही समूहका अन्य दुई टोली इक्वेडर र कुरासाओ, जसले आफ्ना पहिलो खेलहरू गुमाएका थिए, पहिलो जितको खोजीमा आइतबार बिहान पौने ६ बजे आमनेसामने हुँदैछन्, जसको नतिजाले यस समूहको नकआउट समीकरणलाई थप रोचक बनाउनेछ ।

छुटाउनुभयो कि ?