काठमाडाैं। फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले अंक बाँडेका छन्।
अमेरिकाको एटलान्टा स्टेडियममा आज सम्पन्न समूह ‘ए’ को प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो।
खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको चेक रिपब्लिकका लागि छैटौँ मिनेटमै मिचल सादिलेकले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको अन्तिम समयसम्म १-० ले पछि परेको दक्षिण अफ्रिकाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याउन सफल भयो ।
चेक रिपब्लिकका खेलाडीले डिबक्सभित्र बललाई हातले छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पाएको थियो, जसलाई सदुपयोग गर्दै तेबोहो मोकोनाले गोलमा परिणत गरे।
यसै समूह ‘ए’ अन्तर्गतको अर्को महत्त्वपूर्ण खेल आजै मेक्सिको र दक्षिण कोरियाबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुने तालिका रहेको छ।