विश्वकपमा मेस्सीको ऐतिहासिक रात

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

कन्सास सिटी। लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो छैटौँ विश्वकप सहभागितालाई अविस्मरणीय बनाएका छन्।

कप्तान मेस्सीको ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियानमा विजयी सुरुआत गरेको छ। यससँगै मेस्सी विश्वकप इतिहासकै संयुक्त सर्वाधिक गोलकर्ता समेत बनेका छन्।

मंगलबार कन्सास सिटीस्थित एरोहेड स्टेडियममा भएको ग्रुप ‘जे’ को खेलमा ३८ वर्षीय मेस्सीले तीन गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १६ पुर्‍याए। यो जितसँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन्।

मेस्सीका लागि यो खेल अर्को कारणले पनि विशेष रह्यो, उनी आफ्नो करियरको २००औं अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकपका छ फरक संस्करणमा सहभागिता जनाउने विश्वकै पहिलो फुटबलर बनेका छन्।

खेलमा अर्जेन्टिनाले सुरुदेखि नै पकड जमाएको थियो। मेस्सीले १७औँ मिनेटमा सुन्दर कर्लिङ प्रहारमार्फत टोलीलाई अग्रता दिलाउँदै आफ्नो विश्वकप गोल संख्या १४ पुर्‍याएर जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पेको बराबरी गरेका थिए।

खेलको ६०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको प्रहार गोलरक्षकबाट फर्किएपछि मेस्सीले रिबाउन्डमार्फत दोस्रो गोल गर्दै ब्राजिलका महान् स्ट्राइकर रोनाल्डोको १५ गोलको कीर्तिमान बराबरी गरे। त्यसपछि ७६औं मिनेटमा अर्को आकर्षक गोल गर्दै उनले ह्याट्रिक पूरा गर्नुभयो र इतिहास रने। खेलको ८०औँ मिनेटमा मैदान छाड्दा उपस्थित ६९ हजारभन्दा बढी दर्शकले उभिएर ताली बजाउँदै उनलाई सम्मान प्रकट गरेका थिए।

एमबाप्पे र हालान्डको पनि बलियो उपस्थिति

यसपटक पनि अर्जेन्टिना र फ्रान्स पुनः फाइनलमा भेटिन सक्ने सम्भावनाको चर्चा भइरहेका बेला फ्रान्सले पनि आफ्नो अभियान विजयी ढंगले सुरु गरेको छ। सेनेगलविरुद्ध ३-१ को जित निकाल्ने क्रममा स्टार खेलाडी किलियन एमबाप्पेले दुई गोल गर्दै आफ्नो प्रभाव कायम राखे।

सेनेगलविरुद्धको दुई गोलसँगै एमबाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल पूरा गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ताको सूचीमा ओलिभियर जिरुडलाई पछि पारेका छन्। फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आलोचनाका बीच पनि एमबाप्पे असाधारण खेलाडी रहेको र जुनसुकै क्षण खेलको परिणाम बदल्ने क्षमता उनमा रहेको भन्दै प्रशंसा गरे।

उता अर्का स्टार स्ट्राइकर एर्लिङ हालान्डले पनि आफ्नो विश्वकप डेब्यूलाई स्मरणीय बनाएका छन्। समूह ‘ए’ अन्तर्गत फक्सबरोमा भएको खेलमा इराकमाथि नर्वेलाई ४-१ को सहज जित दिलाउन हालान्डले दुई गोल गरे।

हालान्डले २९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए पनि इराकका आयमेन हुसेनले हेडरमार्फत खेल बराबरीमा ल्याएका थिए। तर इराकी रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै हालान्डले पहिलो हाफ अघि पुनः अर्को गोल गरे।

५१ खेलबाट ५७ अन्तर्राष्ट्रिय गोल गरिसकेका हालान्डको प्रदर्शन र दोस्रो हाफमा लियो ओस्टिगार्डको गोल तथा इराकको आत्मघाती गोलको मद्दतले नर्वेले सानदार जित निकाल्यो। सन् १९९८ पछि पहिलोपटक विश्वकपमा फर्किएको नर्वेका प्रशिक्षक स्टेल सोल्बाक्केनले हालान्डले ठूलो मञ्चमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताए।

मङ्गलबारकै अर्को खेलमा, विश्वकपमा पहिलोपटक सहभागी भएको जोर्डनले समूह ‘जे’ अन्तर्गत क्यालिफोर्नियाको सान्ता क्लारामा अस्ट्रियाको सामना गर्दैछ।

छुटाउनुभयो कि ?