काठमाडाैं। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ। अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको सनसनीपूर्ण ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को शानदार जित दर्ता गर्यो। यस जितसँगै ३ अंक जोड्दै अर्जेन्टिना समूह 'जे' को शीर्ष स्थानमा उक्लिएको छ।
खेलको सुरुवातमा दुवै टोलीका तर्फबाट भएका एक–एक गोललाई अफसाइडका कारण मान्यता नदिइए पनि अर्जेन्टिनाले खेलभरि आफ्नो दबाब कायम राख्यो। मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै आफ्नो जादुमयी प्रदर्शन प्रदर्शन गरे।
यो खेलसँगै लियोनल मेस्सीले विश्व फुटबल इतिहासमा अनेकौं दुर्लभ कीर्तिमानहरू आफ्नो नाममा लेखएका छन्। सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सी अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै विश्वकपको ६ वटा संस्करण खेल्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।
अल्जेरियाविरुद्धको यो खेल उनको करियरको २७औं विश्वकप खेल हो, जसका कारण विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा अझ मजबुत बनेको छ। सन् २०१० को संस्करणबाहेक आफूले खेलेका पाँचवटै विश्वकपमा गोल गरेका मेस्सीले पाँचै संस्करणमा असिस्ट (गोलका लागि पास) गर्ने कीर्तिमान समेत पहिल्यै बनाइसकेका छन्। चार वर्षअघि कतारमा आफ्नै कप्तानीमा टोलीलाई विश्वविजेता बनाएका मेस्सीका लागि यो विश्वकप यात्रा निकै यादगार मोडमा सुरु भएको छ।
यस खेलमार्फत मेस्सीले गोल संख्या र उमेरका आधारमा पनि नयाँ इतिहास रचेका छन्। खेलमा गरेको तीन गोलसँगै उनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १६ पुर्याउँदै जर्मनीका दिग्गज स्ट्राइकर मिरोस्लाभ क्लोसको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरे। यसका साथै मेस्सी विश्वकप इतिहासमै ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी समेत बनेका छन्।
उनले ३८ वर्ष ३५७ दिनको उमेरमा यो सफलता हात पार्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा रहेको कीर्तिमान भंग गरे, जसले यसअघि ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए। विश्वकपको इतिहासमै मेस्सीको यो पहिलो ह्याट्रिक हो, जसले अर्जेन्टिनाको उपाधि रक्षा गर्ने अभियानलाई बलियो उर्जा दिएको छ।