विश्वकप फुटबल: उरुग्वे र साउदी अरबको रोमाञ्चक बराबरी

विश्वकप फुटबल: उरुग्वे र साउदी अरबको रोमाञ्चक बराबरी

काठमाडौं। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को रोमाञ्चक खेलमा पूर्व विजेता उरुग्वे र साउदी अरबले अंक बाँडेका छन्।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिष्पर्धात्मक खेल १–१ को बराबरीमा सकिएको हो। फिफा वरीयता र ऐतिहासिक पृष्ठभूमिका आधारमा बलियो मानिएको उरुग्वेविरुद्ध साउदी अरबले मैदानमा कडा चुनौती प्रस्तुत गरेको थियो।

खेलको पहिलो हाफमा साउदी अरबले उत्कृष्ट रणनीतिक र प्रभावशाली प्रदर्शन गर्दै खेलमा अप्रत्याशित अग्रता बनाएको थियो। खेलको ४१औँ मिनेटमा साउदीका अग्रपंक्तिका खेलाडी अब्दुल्लाह अलाम्रीले सानदार गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा रक्षात्मक रूपमा निकै मजबुत देखिएको साउदी अरबले उरुग्वेका स्टार स्ट्राइकरहरूलाई खुलेर खेल्ने मौका दिएको थिएन।

दोस्रो हाफमा उरुग्वेले खेलमा फर्कनका लागि आक्रामक रणनीति अपनायो र साउदीको पोस्टमा लगातार प्रहारहरू गर्‍यो। खेलको अन्तिम समयतिर अर्थात् ८०औँ मिनेटमा म्याक्सी अराजोले गोल गर्दै उरुग्वेलाई संकटबाट बचाए।

अराजोको यो गोलसँगै खेल १-१ को बराबरीमा पुग्यो। निर्धारित समय र इन्जुरी समयको बाँकी अवधिमा दुवै टोलीले निर्णायक गोलका लागि केही राम्रा अवसरहरू सिर्जना गरे पनि बललाई जाली चुमाउन नसक्दा अंक बाँड्न बाध्य भए।

यो बराबरीसँगै समूह ‘एच’ मा नकआउट चरणको यात्रा तय गर्न दुवै टोलीका लागि आगामी खेलहरू निकै महत्त्वपूर्ण र दबाबपूर्ण बनेका छन्। विश्वकपअन्तर्गत नै मंगलबार भएको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

छुटाउनुभयो कि ?