काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को एक अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एसियाली पावरहाउस जापानले उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई २-२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ।
अमेरिकाको डालासस्थित एटीएन्डटी रङ्गशालामा सोमबार मध्यराति सम्पन्न खेलमा दुई पटकसम्म पछि परेको चुनौतीपूर्ण स्थिति उल्टाउँदै जापानले अंक खोस्न सफल भएको हो।
फिफा विश्व वरीयतामा ८औं स्थानमा रहेको बलियो नेदरल्यान्ड्स र १८औं स्थानमा रहेको जापानबीचको यो भिडन्तमा दुवै टोलीले सुरुदेखि नै उच्च गति र रणनीतिक फुटबल प्रदर्शन गरे पनि पहिलो हाफमा कुनै गोल हुन सकेन। पहिलो ४५ मिनेटमा डच टोलीले बलमाथि अधिकांश समय आफ्नो नियन्त्रण राख्दै लगातार दबाब सिर्जना गरे पनि जापानी रक्षापङ्क्ति र गोलकिपरले त्यसलाई उत्कृष्ट रूपमा विफल पारिदिएका थिए।
दोस्रो हाफ भने पूर्ण रूपमा रोमाञ्चक र गोलमय बन्यो, जहाँ खेलको ५१औँ मिनेटमा नेदरल्यान्ड्सका कप्तान तथा अनुभवी डिफेन्डर भर्जिल भान डाइकले कर्नरबाट आएको बललाई उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
डच टोलीको यो खुसी धेरै समय टिक्न पाएन, किनभने ठीक ६ मिनेटपछि अर्थात् ५७औँ मिनेटमा जापानका विङ्गर केइटो नाकामुराले काउन्टर अट्याकमा प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेल झनै आक्रामक बन्यो र ६४औँ मिनेटमा युवा फरवार्ड क्रिसिएनसिओ समरभिलले डिबक्स भित्रबाट सानदार प्रहार गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए।
खेल नेदरल्यान्ड्सको पक्षमा जाने निश्चित देखिइरहेका बेला निर्धारित समय सकिन १ मिनेट अगाडि अर्थात् ८९औँ मिनेटमा जापानका स्टार मिडफिल्डर दाइची कामादाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएपछि रङ्गशालामा जापानी समर्थकहरूले ठुलो उत्सव मनाए।
यस बराबरीसँगै दुवै टोलीले समूह चरणको पहिलो खेलमा समान १–१ अङ्क बाँडेका छन्। फुटबल इतिहासलाई हेर्ने हो भने नेदरल्यान्ड्सलाई विश्व फुटबलको एक स्थापित तर अभागी टोली मानिन्छ, जसले सन् १९७४, १९७८ र २०१० मा गरी तीन पटक विश्वकपको फाइनल यात्रा तय गरे पनि हरेक पटक उपविजेतामै चित्त बुझाउनु परेको छ।
अर्कोतर्फ, सन् १९९८ मा पहिलो पटक विश्वकपमा डेब्यु गरेयता लगातार सबै संस्करणमा सहभागी हुँदै आएको जापानले पछिल्ला वर्षहरूमा 'जायन्ट किलर' को छवि बनाएको छ। आजको खेलमा पनि वरीयता र अनुभवमा माथि रहेको बलियो विपक्षीविरुद्ध अन्तिम समयसम्म लडेर जापानले आफ्नो त्यही उच्च मनोबल र विश्वस्तरीय खेल कौशल पुनः प्रमाणित गरेको छ।